काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष मदन दाहाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले दाहालबाट १५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिन आदेश दिएको हो।
दाहालमाथि बीमा प्राधिकरणको अध्यक्ष पदमा रहँदा पदीय जिम्मेवारीको दुरुपयोग गरी हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको रकम नियमविपरीत नेपाल पुनर्बीमा कम्पनीको शेयरमा लगानी गर्न लगाएको आरोप लागेको छ।
अदालतको आदेशअनुसार धरौटी रकम वा बैंक जमानत बुझाएपछि दाहाललाई तारिखमा राखी मुद्दाको पुर्पक्ष अघि बढाइनेछ।





































