काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीचको एकीकृत कारोबारले वित्तीय क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंक तथा वित्तीय संस्थासम्बद्ध विभिन्न संगठनका नेतृत्वले व्यक्त गरेका छन्।
उनीहरूले मर्जरलाई केवल दुई संस्था जोडिने प्रक्रियामा सीमित नराखी संस्थागत संस्कृति मिलाउने, जनशक्ति व्यवस्थापन सुधार गर्ने र कार्यक्षमता अभिवृद्धि गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखेका छन्।
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले उक्त एकीकरणले वित्तीय क्षेत्रमा नयाँ सम्भावना र दिशा सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनले मर्जरबाट संस्थाबीच आवश्यक समन्वय र सहकार्य बढ्ने उल्लेख गर्दै यसलाई नमुना अभ्यासका रूपमा अघि बढाउनुपर्ने बताए।
नेपाल फाइनान्सियल इन्स्टिच्युसन्स एसोसिएसनका प्रथम उपाध्यक्ष रजोजमान श्रेष्ठले मर्जर फरक संस्थागत संस्कार र कार्यशैलीलाई एउटै ढाँचामा ल्याउने चुनौतीपूर्ण प्रक्रिया भएको बताए। उनका अनुसार यसले लागत नियन्त्रण, कार्यक्षमता वृद्धि र कर्मचारीको मनोबल सुदृढ पार्ने अवसर प्रदान गर्छ।
डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले पछिल्लो समय मर्जर प्रक्रिया सुस्ताएको अवस्थामा पोखरा र समृद्धि फाइनान्सको एकीकरणलाई सकारात्मक कदमको रूपमा व्याख्या गरे। उनले मर्जर सफल बनाउन वित्तीय सूचकसँगै जनशक्ति व्यवस्थापनलाई विशेष प्राथमिकता दिनुपर्ने बताए।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले मर्जरपछिको सबैभन्दा ठूलो चुनौती कर्मचारी व्यवस्थापन हुने उल्लेख गर्दै संस्थाभित्र सहकार्य र समन्वय कायम गर्न प्रभावकारी नेतृत्व आवश्यक पर्ने बताए। उनले सौहार्दपूर्ण कार्य वातावरण निर्माण नगरी मर्जर सफल हुन नसक्ने धारणा राखे।
त्यस्तै, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले मर्जर जटिल प्रक्रिया भएको उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको दीर्घकालीन हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए।





































