काठमाडौं । नेकपा एमालेले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्न गठन गरिएको कार्यदलमा अब सहभागिता नगर्ने निर्णय गरेको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा रहेको उक्त कार्यदलमा एमालेका तर्फबाट डा. भीष्म अधिकारी सहभागी हुँदै आएका थिए। तर पछिल्लो निर्णयसँगै एमालेले आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाएको जनाएको छ।
पार्टीका महासचिव शंकर पोखरेलले कार्यदल संयोजकलाई पत्र पठाउँदै सरकारको तर्फबाट संविधान संशोधनको विषयवस्तुमा स्पष्ट धारणा नआएको उल्लेख गरेका छन्। साथै बहसका लागि प्रस्तुत गरिएका केही विषय संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मसँग मेल नखाने देखिएको भन्दै असहमति जनाइएको छ।
पत्रमा सरकारले पार्टीका प्रस्तावप्रति अहिलेसम्म ठोस प्रतिक्रिया नदिएको उल्लेख गर्दै औपचारिक रूपमा कार्यदलमा रहेको प्रतिनिधित्व अन्त्य गरिएको जानकारी दिइएको छ।
यसअघि नै अर्को कम्युनिष्ट पार्टीले पनि कार्यदलबाट बाहिरिने निर्णय गरिसकेको छ भने नेपाली कांग्रेसले प्रारम्भदेखि नै बैठकमा सहभागिता जनाएको छैन। यससँगै संविधान संशोधनसम्बन्धी बहस प्रक्रिया थप जटिल बन्ने संकेत देखिएको छ।






































