काठमाडौँ । नदी किनारबाट हटाइएका सुकुमबासी तथा भूमिहीन परिवारलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टर खाली गर्न ५ दिनको समय दिइएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै शुक्रबारभित्र स्व–व्यवस्थापन गरेर स्थान खाली गर्न आग्रह गरेको हो।
समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार होल्डिङ सेन्टर अस्थायी व्यवस्थापनका लागि मात्र भएकाले लामो समय बसोबास गर्दा दैनिक जीवन प्रभावित भएको छ। साथै, मनसुन सुरु भइसकेकाले उक्त क्षेत्र बाढी र डुबानको जोखिममा रहेको भन्दै समयमै सुरक्षित स्थानमा स्थानान्तरण आवश्यक भएको उनले बताए।
सरकारले विस्थापित परिवारका लागि राहत तथा पुनर्स्थापना प्याकेज पनि अघि सारेको छ। यसअन्तर्गत प्रत्येक परिवारलाई प्रारम्भिक बसोबास व्यवस्थापनका लागि एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ।
यस्तै, वास्तविक घरबारविहीन परिवारलाई मासिक १५ हजार रुपैयाँसम्म भाडा सहयोग दिने व्यवस्था गरिएको छ, जुन स्थायी बसोबासको टुंगो नलागेसम्म जारी रहनेछ।
हाल काठमाडौं उपत्यकाका विभिन्न ६ होल्डिङ सेन्टरमा ३८८ परिवार बसिरहेका छन्। राहत वितरणका लागि विशेष टोली खटाइएको र आवश्यक कागजातसहित निवेदन दिएपछि बैंकमार्फत रकम उपलब्ध गराइने समितिले जनाएको छ।





































