काडमाडौं । जिल्ला अदालत मोरङले धनपालथान गाउँपालिकामा रहेको उमा गौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ।
तीन दिनको बयान र आज भएको थुनछेक बहसपछि सहकारीको रकम अपचलन मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।
ठगी मुद्दामा रौनियार मुख्य अभियुक्ति रहेका थिए । पक्राउ पुर्जी जारी भएको एक सय दिनपछि रौनियार अदालतमा सोमबार उपस्थित भएका थिए । आदेशपछि उनी कारागार चलान भएका हुन् । उमा गौरी सहकारी ठगी प्रकरणका मुख्य आरोपी रौनियार हुन् ।
उनकै सक्रियतामा स्थापना भएको यो सहकारीको रकम अपचलन मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला पनि प्रतिवादी छन् । अध्यक्ष रौनियार र सांसद पत्नी कोइरालासहित यो मुद्दामा २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते सहकारीको रकम अपचलन मुद्दा दायर भएको थियो ।



































