प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (भदौ १६ गते) देशभर एकसाथ सुरु पार्टीको तीन महिने अभियानका क्रममा जनताका घरदैलोमा पुगेर उनीहरूका कुरा,समस्या सुन्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
आज माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको भर्चुअल रूपमा उद्घाटन गर्ने क्रममा उनले माओवादीको जनतासँगको सम्बन्ध कमजोर भएकाले आफ्ना कमीकमजोरीप्रति आत्मालोचित हुँदै अब सुध्रिने वाचा गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन्।
‘बिर्सनै नहुने कुरा के हो भने जनता परिवर्तनकै पक्षमा छन्। जनता समृद्धि चाहन्छन्। जनता सुशासन चाहन्छन्।
अनि योसँगै हामीले जनतालाई विश्वास दिलाउनुपर्दछ– नेपाली समाजको परिवर्तन र रूपान्तरण माओवादीले नै गर्नसक्छ। माओवादीकै नेतृत्वमा मात्र समृद्ध नेपाल सम्भव छ’, निर्देशन दिँदे उनले भने, ‘तसर्थ कमरेडहरू जनतासँग हामीले भन्न सक्नुपर्छ– हाम्रा गल्ती कमजोरीका लागि आत्मालोचित हुन चाहन्छौँ। सुध्रिन चाहन्छौँ। त्यसका लागि अभियानसहित तपाईंहरूको घरदैलोमा छौँ।’

































