काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा.सुनिल शर्माले वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान् कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पतालमा पुगेर देशमा केही पनि हुन्न, सबै खत्तम छ भन्ने भास्य सुधार गर्न आवश्यक रहेको प्रतिक्रीया दिएका छन् ।
हिजो सम्पन्न उक्त कार्यक्रममा बाल अस्पताल देशभरी सातै प्रदेशमा बिस्तार हुने जानकारी दिइएको थियो ।
सांसद शर्माले पनि कार्यक्रममा यस्ता अस्पताल ७ प्रदेशमा अनिवार्य बिस्तार गर्न आवश्यक रहेको बताएका छन् । उनले २० लाखको चेक दिँदै गर्दा नेपालमा केही पनि हुन्न,नेपालमा पढाई हुन्न,नेपालमा उपचार हुन्न भन्ने वितृष्णा समेत हामी आफैले हटाउँन आवश्यक रहेको औँल्याएका छन् । उनले जो कोहीले पनि सय रुपैयाँदेखि आफूले सक्ने जति रहम दान गरेमा त्यसले भोलि बिहान कसैको जीवन बचाउँने कुरा पनि जोडेका छन् । त्यस्तै, नेपालको हेल्थ इन्डेक्स अनुसार दैनिक ७२ जना बच्चाहरु जन्मिएको सन्दर्भ जोडदै उनले पछिल्लो सात वर्षदेखि शिशु मृत्यु दर समेत बढ्न थालेको बताए ।
डा.कोइरालाको भिजन राम्रो रहेको सुनाउँदै उनले आज हामीले गरेको राम्रो कामको चर्चा र त्यसको प्रभाव आगामी पुस्तामा समेत रहि रहने बताएका छन् । डा. कोइरालाको राम्रो कामको प्रशंसा समेत गर्दै उनले असल भगवान कोइराला पहिले सुन हुनुहुन्थ्यो भने अहिले हामीलाई सुनमा सुगन्ध समेत लाग्न थालेको बताए ।
यता, डा. कोइरालाले आफैले मुख्य इनिसियटीभ लिएको कार्यक्रमका बारेमा समेत समाजमा आफू मात्र असल नभएको र अन्य असल व्यक्तीहरुको साथ पाएमा नेपालको स्वास्थ्य क्षेत्रलाई थप उचाईमा पुर्याउन सक्ने बारे चर्चा गरेका थिए ।कोइरालाले आफ्नो जीवनमा भोगेका विभिन्न अनुभव,सिप,दक्षता, तथा पीडाबाट नै यस्तो निर्णय लिएको समेत खुलाएका छन् । उनले आगामी दिनमा धेरै बच्चाहरुलाई बचाउँने आफ्नो लक्ष्य रहेको र त्यो सम्भव पनि रहेको भन्दै अहिले आफू माझ सहि गोल, सहि साथ र सहि समय समेत रहेको स्पष्ट पारे ।
उनै कोइरालाले आज आफ्नो अनुहार यहाँ रहे पनि भोलि आफ्नो शेखापछि पनि अस्पताल रहि रहने र त्यसबाट आम नागरिकले सेवा पाउँने प्रस्टयाएका छन् । उनले छिटो छिटो सहयोग मिल्दा ठूला कामहरु पनि समयमै सम्पन्न भएको उदाहरण समेत पेश गरे । कार्यक्रममा स्वास्थ्य क्षेत्र, मिडीया, राजनीति तथा समाज सेवामा लागेका विभिन्न व्यक्तीत्वहरुको सहभागीता रहेको थियो ।


































