काठमाडौँ । रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना–२’ मा आजदेखि लगानीकर्ताले आवेदन दिन सक्ने भएका छन्। यो बन्दमुखी योजनाअन्तर्गत कुल १० करोड इकाई बिक्रीका लागि सार्वजनिक गरिएको हो।
निष्कासन गरिएको इकाइमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक रिलायबल लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरिएको छ भने १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटललाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई भने सर्वसाधारणका लागि खुला गरिएको छ।
यस योजनामा लगानी गर्न इच्छुकले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखामार्फत दिन सकिनेछ।
इकाई बिक्री छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते बैंकिङ समयपछि बन्द हुने जनाइएको छ। योजनाको निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी रिलायबल क्यापिटल लिमिटेडले सम्हालेको छ।


































