काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको ८२औँ बैठकको निर्णयअनुसार साधारणसभा कात्तिक २० गते आयोजना हुने भएको हो।
कम्पनीका अनुसार साधारणसभा काठमाडौं महानगरपालिका–२८, कमलादीस्थित आईटी प्लाजाको दोस्रो तल्लामा रहेको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०८२/८३ को नाफा–नोक्सान हिसाब, नाफा–नोक्सान बाँडफाँड हिसाब र नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ।
साधारणसभाको मुख्य प्रस्तावमध्ये आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ। सञ्चालक समितिबाट प्रस्तावित लाभांश वितरणसम्बन्धी विषय सभाबाट अनुमोदनका लागि पेस गरिने कम्पनीले जनाएको छ।
यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत साधारणसभामा पेस हुनेछ।






































