काठमाडौँ। सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको मुद्दामा बयान सुरु भएको छ।
पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेको मुद्दामा जिल्ला अदालत रुपन्देहीमा बयान सुरु भएको हो । सहकारी ठगीसम्बन्धी मुद्दामा सुनुवाइ सुरु हुने भएपछि रवि अदालत खुल्ने बित्तिकै पुगेका थिए।
उनको मुद्दाको सुनुवाइ न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा भइरहेको छ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध कसुरमा आइतबार मुद्दा दायर भएको थियो ।
कास्की प्रहरी हिरासतमै रहँदा पक्राउ पुर्जी पाएपछि उनलाई कात्तिक २७ गते भैरहवा लगेर बयान लिइएको थियो। उक्त सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना भएको आरोप छ ।
उक्त सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
गत वैशाख ३ गते पहिलो पटक मुद्दा दायर भएको थियो । तर लामिछानेलाई पूरक उजुरी लगेर छानबिन थालिएको थियो। प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको निष्कर्ष निकालेको छ। जसमा २ करोड रुपैयाँ रविको नाममा ऋणका रूपमा गएको भेटिएपछि उजुरी परेको थियो।

































