काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत् महशुल घटाउनुपर्ने समयमा उल्टै कर थपेर उपभोक्तामाथि भार बढाएको आरोप लगाएका छन्।
शुक्रबार पार्टीको युवा तथा विद्यार्थी विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगतमा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत रहँदा घाटामा रहेको अवस्थामा पनि महशुल घटाइएको स्मरण गरे। उनका अनुसार तीन चरणमा गरी करिब २५ प्रतिशत महशुल घटाउँदा करिब २५ अर्ब रुपैयाँ बराबरको राहत उपभोक्तालाई दिइएको थियो, तर त्यसपछि पनि प्राधिकरण नाफामा गएको उनले उल्लेख गरे।
घिसिङले नेपालमा जलविद्युत् उत्पादन बढ्दो क्रममा रहेको भन्दै आगामी दिनमा विद्युत् अझ सस्तो हुनुपर्ने बताए। तर, सरकार भने विपरीत दिशामा अघि बढ्दै विद्युत्मा कर थप्ने निर्णय गरेको उनको भनाइ थियो।
उनले विद्युत्मा पाँच प्रतिशत भ्याट लगाइएको उल्लेख गर्दै यसले औद्योगिक क्षेत्रको लागत बढाउने र त्यसको प्रभाव अन्ततः उपभोक्तामा महँगीका रूपमा देखिने चेतावनी दिए। छिमेकी मुलुक भारतमा विद्युत्मा भ्याट नलाग्ने उदाहरण पनि उनले प्रस्तुत गरे।
यसै क्रममा उनले सेयर राइडिङ, शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत कर वृद्धि गरिएको भन्दै यसले विशेषगरी निम्न तथा मध्यम वर्गलाई थप मार पर्ने टिप्पणी गरे।
सरकारको बजेट उच्च वर्गमै केन्द्रित भएको आरोप लगाउँदै उनले आम नागरिकको अपेक्षा अनुसारको राहत र कार्यक्रम समावेश नभएको दाबी गरे। दुई तिहाइ बहुमतको सरकारबाट ठूला सुधारको अपेक्षा गरिए पनि त्यसअनुसारको परिणाम नदेखिएको उनको भनाइ थियो।





































