National life

डेढ दशकअघि एलआइसी नेपालमा करिब डेढ लाखको लगानी अहिले १३ लाखमाथि, १०० कित्ता बढेर १७५५ पुग्यो

max lubricant tata
बिजय राज फुयाँल
बिजय राज फुयाँल
अहिले मात्र|०७ असोज २०८३, बुधबार
465Shares
डेढ दशकअघि एलआइसी नेपालमा करिब डेढ लाखको लगानी अहिले १३ लाखमाथि, १०० कित्ता बढेर १७५५ पुग्यो
ncell

काठमाडौं । डेढ दशकअघि करिब डेढ लाख रुपैयाँ लगानी गरेर लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल)को १ सय कित्ता शेयर किनेका लगानीकर्तासँग अहिले बोनस र हकप्रद शेयर थपिँदै जाँदा १ हजार ७५५ कित्ता पुगेको छ । यसबीच हकप्रद शेयरमा थप लगानी गरे पनि लगानीकर्ताले ५४ हजार रुपैयाँ नगद लाभांश प्राप्त गरिसकेका छन् भने हाल उनीहरुसँग रहेको शेयरको बजार मूल्य मात्रै १३ लाख ४० हजार रुपैयाँभन्दा बढी पुगेको छ।

सन् २०१२ डिसेम्बर १३ मा, कम्पनीले ६२ प्रतिशत बोनस शेयरको बुक क्लोज गर्नुअघि एलआइसी नेपालको शेयर प्रतिकित्ता करिब १ हजार ४१० रुपैयाँमा खरिद गर्न सकिन्थ्यो। त्यतिबेला १ सय कित्ता शेयर किन्न १ लाख ४१ हजार रुपैयाँ लगानी गर्नुपर्थ्यो।

Royal Enfield
nic asia capital
त्यसयता कम्पनीले विभिन्न समयमा दिएको बोनस शेयर र हकप्रद शेयरमा लगानी गर्दै आएका लगानीकर्ताको त्यही प्रारम्भिक १ सय कित्ता अहिले १ हजार ७५५ कित्तामा पुगेको हो।

अर्थात्, बोनस शेयर र हकप्रद शेयरमा निरन्तर सहभागिता जनाउँदा लगानीकर्ताको शेयर संख्या प्रारम्भिक १ सय कित्ताबाट करिब १७ गुणाले विस्तार भएको देखिन्छ।

यो अवधिमा लगानीकर्ताले करिब ५४ हजार रुपैयाँ नगद लाभांशसमेत प्राप्त गरेका छन्। हकप्रद शेयर खरिदका लागि भने थप करिब ७४ हजार रुपैयाँ लगानी गर्नुपरेको थियो ।

यसरी प्रारम्भिक १ लाख ४१ हजार रुपैयाँ र हकप्रदमा थपिएको ७४ हजार रुपैयाँ गरी कुल करिब २ लाख १५ हजार रुपैयाँ लगानी गरेका लगानीकर्तासँग अहिले १ हजार ७५५ कित्ता शेयर रहेको छ। उक्त शेयरको हालको बजार मूल्य मात्रै १३ लाख ४० हजार रुपैयाँभन्दा बढी रहेको छ।

यसमा विगतमा प्राप्त ५४ हजार रुपैयाँ नगद लाभांशसमेत जोड्ने हो भने एलआइसी नेपालको शेयरमा लामो समयसम्म लगानी कायम राख्ने लगानीकर्ताले उल्लेख्य प्रतिफल प्राप्त गरेको देखिन्छ।

पछिल्लो समय समग्र शेयर बजार कमजोर रहँदा कम्पनीको शेयर मूल्यमा पनि दबाब परेको छ। बजारको अवस्था अनुकूल भएको भए लगानीकर्ताको शेयर सम्पत्तिको मूल्य अझ माथि पुग्न सक्ने सम्भावना थियो।

१०० कित्ता सेयरबाट बोनस सेयर कम्पाउन्ड गर्दा

तर, एलआइसी नेपालको आकर्षण विगतमा बोनस र हकप्रदमार्फत शेयर संख्या बढाएको इतिहासमा मात्र सीमित छैन। भारतीय लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५५ प्रतिशत स्वामित्व, ठूलो बीमा कोष, बढ्दो लगानी आधार, नयाँ व्यवसायमा देखिएको सुधार, बलियो सोल्भेन्सी अवस्था र पछिल्लो समय इक्रा नेपालले गरेको क्रेडिट रेटिङ स्तरोन्नतिले पनि कम्पनीको वित्तीय आधार बलियो बन्दै गएको संकेत गर्छ।

भारतीय एलआइसीको ५५ प्रतिशत स्वामित्व, विशाल समूहको १० प्रतिशत हिस्सा

एलआइसी नेपाल नेपालकै ठूला पूँजी भएका जीवन बीमा कम्पनीमध्ये एक हो। कम्पनीको स्थापना सन् २००० मा भारतको सरकारी स्वामित्वको जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया र नेपालको विशाल समूहको संयुक्त लगानीमा भएको थियो।

कम्पनीले सन् २००१ सेप्टेम्बरदेखि नेपालमा जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ। कम्पनीको ५५ प्रतिशत शेयर भारतको लाइफ इन्स्योरेन्स कर्पोरेसनसँग, १० प्रतिशत विशाल समूहसँग र बाँकी ३५ प्रतिशत शेयर सर्वसाधारणसँग रहेको छ।

विश्वव्यापी अनुभव र नेपाली बजारको स्थानीय ज्ञानको संयोजनमा स्थापित कम्पनीले आफूलाई अन्तर्राष्ट्रिय अनुभव र स्थानीय विशेषज्ञताको मिश्रणका रुपमा अघि बढाउँदै आएको छ। कम्पनीले नेपालभर जीवन बीमाको पहुँच विस्तार गर्नुका साथै बीमा गर्न योग्य सबै नागरिकसम्म जीवन बीमाको पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

नयाँ व्यवसायमा सुधार, पुरानो पोलिसी नवीकरण दर पनि बढ्यो

एलआइसी नेपालको पछिल्लो वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ। क्रेडिट रेटिङ संस्था इक्रा नेपालका अनुसार यसअघि केही वर्ष नयाँ व्यवसायबाट प्राप्त बीमाशुल्क घट्ने क्रममा रहेको कम्पनीले पछिल्लो समय पुनः वृद्धि देखाउन थालेको छ।

सन् २०२२ र २०२३ मा नयाँ व्यवसायको बीमाशुल्कमा लगातार गिरावट देखिएको थियो। सन् २०२४ मा सामान्य सुधार देखिएपछि सन् २०२५ मा नयाँ व्यवसाय बीमाशुल्क करिब १७ प्रतिशतले बढेको छ।

इक्रा रेटिङ अपग्रेड, ए प्लसबाट डबल ए माइनस

एलआइसी नेपालको वित्तीय विश्वसनीयतामा आएको सुधारलाई पछिल्लो क्रेडिट रेटिङले पनि प्रतिबिम्बित गरेको छ। इक्रा नेपालले सन् २०२६ मार्च १२ मा कम्पनीको इस्युअर रेटिङ [ICRANP-IR] A+ बाट बढाएर [ICRANP-IR] AA- गरेको छ।

एए माइनस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च स्तरको सुरक्षा रहेको र कम्पनीमा ऋण जोखिम अत्यन्त कम रहेको संकेत गर्छ। यो रेटिङ कुनै विशेष ऋणपत्र वा वित्तीय उपकरणको रेटिङ नभई कम्पनीको समग्र वित्तीय विश्वसनीयतामाथिको मूल्यांकन हो।

इक्राका अनुसार नयाँ व्यवसायको बीमाशुल्कमा लगातार सुधार आउनु, न्यूनतम नियामकीय चुक्ता पूँजीको आवश्यकता पूरा हुनु, बलियो स्वामित्व संरचना, लामो सञ्चालन इतिहास, अनुभवी व्यवस्थापन, राम्रो गुणस्तरको लगानी, पर्याप्त पुनर्बीमा व्यवस्था र राम्रो नाफाको अवस्थाले कम्पनीको रेटिङ बढाउन सहयोग गरेको हो।

कम्पनीले हकप्रद र बोनस शेयर जारी गरेपछि चुक्ता पूँजी ५ अर्ब रुपैयाँको न्यूनतम नियामकीय सीमाभन्दा माथि पुर्‍याएको छ। कम्पनीको सोल्भेन्सी अनुपात पनि सन् २०२५ को मध्यसम्म करिब १६१ प्रतिशत रहेको थियो ।  जुन नियामकले तोकेको १३० प्रतिशतको न्यूनतम स्तरभन्दा माथि हो।

बैंकमा ठूलो लगानी, घट्दो ब्याजदर चुनौती

एलआइसी नेपालको लगानी पोर्टफोलियोको ठूलो हिस्सा स्थिर ब्याज आम्दानी हुने क्षेत्रमा केन्द्रित छ। आईसीआरएका अनुसार कम्पनीको कुल लगानीको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, ऋणपत्र र अन्य निश्चित ब्याज दिने साधनमा लगानी गरिएको छ।

जनवरी सन् २०२६ सम्म कम्पनीको लगानीको करिब ८८ प्रतिशत हिस्सा पोलिसी धितो कर्जा बाहेक निश्चित ब्याज दिने साधनमा रहेको थियो। त्यसमध्ये अधिकांश लगानी क वर्षका वाणिज्य बैंकमा गरिएको छ।

कम्पनीले ब्याजदर उच्च रहेको समयमा तुलनात्मक रुपमा दीर्घकालीन मुद्दती निक्षेपमा रकम राखेकाले अहिले ब्याजदर घटे पनि लगानी प्रतिफललाई केही हदसम्म जोगाउन सफल भएको इक्राले जनाएको छ।

एलआइसी नेपालको व्यवसायको आकार पनि उल्लेख्य छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। कम्पनीको सञ्चित नाफा २ अर्ब ६५ करोड ६१ लाख रुपैयाँ रहेको छ भने शेयर प्रिमियम खातामा ४९ करोड ८० लाख रुपैयाँ रहेको छ।

जीवन बीमा व्यवसायको प्रमुख आधार मानिने बीमा कोष भने १ खर्ब ४८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। ठूलो बीमा कोषसँगै कम्पनीको लगानी क्षमता पनि विस्तार हुँदै गएको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ४० करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको ३१ करोड ५८ लाख रुपैयाँभन्दा बढी हो।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क संकलन पनि १९ अर्ब ८२ करोड रुपैयाँबाट बढेर २१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। यसले कम्पनीको बीमा व्यवसायको आकार विस्तार भइरहेको देखाउँछ।

८५ सेवा केन्द्र, करिब १३ हजार ८ सय एजेन्ट

एलआइसी नेपालको नेपालभर उपस्थिति रहेको छ। मध्य जनवरी २०२६ सम्म कम्पनीसँग प्रदेश कार्यालय र केन्द्रीय कार्यालयसहित ८५ वटा नेटवर्क प्वाइन्ट रहेको थियो।

कम्पनीसँग करिब १३ हजार ८ सय व्यक्तिगत एजेन्ट रहेका छन्, जसमध्ये करिब ६ हजार १ सय सक्रिय एजेन्ट छन्। यसका अतिरिक्त कम्पनीसँग ९६ वटा कर्पोरेट एजेन्टसमेत रहेका छन्। यही नेटवर्कमार्फत कम्पनीले नयाँ बीमा व्यवसाय संकलन गर्नुका साथै बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।

अध्यक्षदेखि सीईओसम्म अनुभवी टोली

कम्पनीको पछिल्लो व्यवसायिक तथा वित्तीय सुधारमा यसको सञ्चालक समिति र व्यवस्थापन टोलीको अनुभवलाई पनि महत्वपूर्ण आधारका रुपमा हेर्न सकिन्छ। एलआइसी नेपालको अध्यक्षमा रत्नाकर पटनायक छन् भने विशाल समूहका विशाल अग्रवाल सञ्चालक रहेका छन्। कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भने बीमा क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव भएका प्रणय कुमारले सम्हालिरहेका छन्।

अध्यक्ष पटनायक सन् २०२५ जुन १ देखि भारतको लाइफ इन्स्योरेन्स कर्पोरेसनका प्रबन्ध निर्देशकसमेत हुन्। यसअघि उनी सोही संस्थाको कार्यकारी निर्देशक तथा प्रमुख लगानी अधिकृत थिए। सन् १९९० मा सहायक प्रशासनिक अधिकृतका रुपमा एलआइसी इन्डियामा प्रवेश गरेका उनीसँग मार्केटिङ, शाखा तथा डिभिजन सञ्चालनदेखि लगानी व्यवस्थापनसम्मको लामो अनुभव छ।

विभिन्न क्षेत्र र डिभिजनमा नेतृत्वदायी जिम्मेवारी सम्हालेका पटनायकले लगानी क्षेत्रको प्रमुख जिम्मेवारी सम्हाल्दै एलआइसी इन्डियाको प्रमुख लगानी अधिकृतसम्मको यात्रा तय गरेका हुन्। उनी सार्वजनिक प्रशासनमा स्नातकोत्तर तथा इन्स्योरेन्स इन्स्टिच्युट अफ इन्डियाका फेलो हुन्।

यता, सन् २०२६ जनवरी १२ मा एलआइसी नेपालको सञ्चालक नियुक्त भएका विशाल अग्रवाल नेपालको विशाल समूहसँग सम्बन्धित व्यवसायी हुन्। उनी विशाल समूह तथा यति ब्रुअरीका अध्यक्षसमेत हुन्।

कम्पनीको दैनिक व्यवस्थापनको नेतृत्व भने प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले गरिरहेका छन्।

यसअघि उनले जम्मूमा प्रमुख प्रबन्धक, श्रीनगर डिभिजनमा प्रबन्धक, कानपुरस्थित उत्तर मध्य क्षेत्रको मार्केटिङ सचिव तथा मेरठ डिभिजनमा बिक्री प्रबन्धकका रुपमा समेत काम गरिसकेका छन्। अर्थशास्त्र र गणितमा स्नातक कुमारले भारतीय व्यवस्थापन संस्थान, अहमदाबादसँगको सहकार्यमा सञ्चालित पोस्ट ग्राजुएट एक्जिक्युटिभ प्रोग्रामसमेत पूरा गरेका छन्। उनी इन्स्योरेन्स इन्स्टिच्युट अफ इन्डियाका फेलो पनि हुन्।

एलआइसी नेपालको पछिल्लो वित्तीय तथा व्यवसायिक अवस्थामा देखिएको सुधारका बीच कम्पनीको नेतृत्व संरचनामा रहेको यो अनुभव पनि महत्वपूर्ण देखिन्छ।

नयाँ व्यवसायको बीमाशुल्कमा सुधार, नवीकरण दर बढ्नु, सोल्भेन्सी अवस्था बलियो रहनु तथा इक्रा नेपालबाट कम्पनीको रेटिङ ए प्लसबाट एए माइनसमा स्तरोन्नति हुनुका पछाडि कम्पनीको बलियो संस्थागत स्वामित्वसँगै अनुभवी सञ्चालक समिति र व्यवस्थापन टोलीको भूमिका पनि रहेको देखिन्छ।

इक्रा नेपालले समेत कम्पनीको बलियो स्वामित्व संरचना, लामो सञ्चालन इतिहास, अनुभवी सञ्चालक समिति र व्यवस्थापन टोलीलाई रेटिङका सकारात्मक पक्षका रुपमा उल्लेख गरेको छ। कम्पनीको वरिष्ठ व्यवस्थापनमा एलआइसी इन्डियाबाट आएका तीन जना अनुभवी कर्मचारीसमेत रहेका छन् ।

 

 

यो समाचार शेयर गर्नुहोस्
465SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?