काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले विकास खर्चमा सबै नागरिकको हक सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएकी छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा सांसद कार्कीले डोटी जिल्ला अस्पताल भवन निर्माण कार्य सुचारु हुने गरी बजेटको व्यवस्था गर्न समेत सरकारलाई दबाब दिइन् । उनले सो अस्पतालमा आईसियु र डायलसिस सेवा तत्काल सुरु गराउन पनि सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद कार्कीेले असार मसान्तमा आएर जथाभाबी बजेट खर्च नगर्न पनि सरकारलाई सचेत गराएकी छिन् । ‘वर्षभरि काम नहुने अनि असार मसान्तसम्म चाहिँ जसरी पनि खर्च गर्नुपर्ने प्रेसरमा पर्याप्त अध्ययन नै नगरी जथाभाबी अनावश्यक रूपमा दोहो¥याई, तेहे¥याई सडकहरू पिच गर्ने, सरकारी भवन ठेक्का लगाउने जस्ता कामले जनताको करको दुरुपयोग भइरहेको छ।
यता, सुदूरपश्चिमको डोटी जिल्लामा भने राष्ट्रिय गौरवको योजना भनिएको खुटिया–दिपायल द्रुतमार्ग मात्र ८६ किलोमिटर पनि वर्षौँदेखि बजेट अभावका कारण अलपत्र छ । डोटी जिल्लाकै शिखर नगरपालिका–१० र ११ जोडने पुल ठेक्का लागेर पनि काम भएको छैन ।
डोटी जिल्लाको अस्पताल भवन ठेक्का लागेर पनि अन्तिम अवस्थामा आएर रोकिएको छ । आईसियू र डायलसिस सेवा सुरु हुन सकेको छैन । बिरामीहरू रिफर गर्नुपरेको छ । यी समस्याहरू यथाशीघ्र समाधान गरियोस्,’ उनले भनिन् ।

































