काठमाडौँ । चालु आर्थिक वर्षको असोज महिनामा घरजग्गाको कित्ताकाट कारोबार बढेको छ । कित्ताकाट बढेपनि घरजग्गा कारोबार र राजस्वमा भने गिरावट आएको छ । भदौ सुरु भएयता कित्ताकाट रोकिएपछि साउनको तुलनामा भदौमा कित्ताकाट, घरजग्गा कारोबार र राजस्वमा गिरावट आएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको अनुसार असोज महिनामा कुल ७२ हजार ९५८ पटक कित्ताकाट भएको छ । कित्ताकाटको लिखत पारित ३१ हजार ४१४ पटक भएको विभागको तथ्यांकमा उल्लेख छ। जुन भदौ महिनाको तुलनामा ३०५.९७ प्रतिशतले बढी हो।
कित्ताकाट बढे पनि कारोबारको लिखत पारित भदौको तुलनामा असोजमा ६.९२ प्रतिशतले घटेको हो । भदौमा कारोबारको लिखत पारित ३२ हजार ७९८ वटा हुँदा असोजमा ३० हजार ५२७ वटा भएको छ ।
विभागका अनुसार भदौको तुलनामा असोजमा घरजग्गा कारोबारबाट उठ्ने राजस्व शून्य दशमलव २९ प्रतिशतले घटेको छ । भदौमा ३ अर्ब ९ करोड रुपैयाँ राजस्व उठ्दा असोजमा ३ अर्ब ८ करोड रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ ।
भदौ अन्तिममा सरकारले भू–उपयोग नियमावली २०८१ संशोधन गरेर कित्ताकाट खुलाएको थियो । तर असोज २० सम्म पनि घरजग्गा कारोबार, राजस्व र कित्ताकाट बढेको थिएन । असोज महिनाको समग्र तथ्यांक सार्वजनिक हुँदा कित्ताकाट बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकमा उल्लेख छ ।



































