काठमाण्डौ। आज नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा बोलाएको छ। साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम ३६ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो।
उक्त सभा आज बिहान १०ः३० बजे काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ। सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७९/८० को वासलात नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले गत साउन २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको थियो । यसर्थ साउन २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

































