काठमाडौँ । केन्द्रीय बैंकको तथ्यांक अनुसार भदौ १२ गते बुधवार ६४ खर्ब ५७ अर्ब निक्षेप संकलन भएकोमा भदौ १३ गते बिहीबार अर्थात् पछिल्लो एक दिनमा बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ६१ अर्ब बराबरको निक्षेप संकलन भएको छ ।
यस अनुसार बैंकिङ्ग प्रणालीको निक्षेपमा एक दिनमा ४ अर्बको वृद्धि देखिएको छ । उक्त समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा समेत ५ अर्बले बढेको छ । भदौ १२ गते ५७ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले अर्को दिन अर्थात् १३ गते ५७ खर्ब ३६ अर्ब निक्षेप संकलन गरेका थिए ।
राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.९५ प्रतिशत कायम भएको देखाएको छ । उक्त समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा ४ अर्बले बढेको तथ्याकंमा उल्लेख छ। गत बुधवारसम्म ५१ खर्ब ८९ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले बिहीबार ५१ खर्ब ९३ अर्ब प्रवाह गरेका छन् ।
त्यस्तै, त्यस अवधिमा वाणिज्य बैंकहरुले गर्ने कर्जा प्रवाह ४ अर्बले बढेको छ । बुधवार ४५ खर्ब ९१ अर्ब कर्जा प्रवाह गरेका बैंकहरुले बिहीबार ४५ खर्ब ९५ अर्ब कर्जा प्रवाह गरेका छन् ।





































