काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोटाबाट राजदूत नियुक्तिका लागि आवेदन दिने प्रक्रिया सुरु भएसँगै आवेदन दिनेको सङ्ख्या ह्वात्तै बढेको छ ।
रास्वपाले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार गरेर सोमबारबाट अनलाइन फारम खुला गरेको छ । मापदण्ड तयार पार्नका लागि प्रतिनिधिसभा सदस्य शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा.अतिन्द्र दाहाल सदस्य रहेको कार्यदल बनेको छ।
राजनीतिक भागबन्डा अनुसार रास्वपाले दुई देशको लागि राजदूतको कोटा पाएको छ।
गत जेठ २४ गते विभिन्न ११ वटा मुलुकका राजदूत फिर्ता बोलाएको थियो। त्यसयता रिक्तमध्ये अब ३ वटा देशका राजदूत सिफारिस हुन बाँकी छ। खाली भएकामध्ये अब दक्षिण कोरिया, कतार, इजरायल र पोर्चुगलमा राजदूत सिफारिस हुन बाँकी छ।
सोमबार खुला गरेको अनलाइन आवेदनमा मङ्गलवार बिहानसम्म ५० बढी आवेदन परेको छ । आगामी शुक्रवार बेलुकीसम्म अनलाइन फारम खुला हुने भएको छ ।
कार्यदलले तयार पारेको मापदण्डसहितको प्रतिवेदन सोमबार पार्टी सभापति रवि लामिछानेलाई हस्तान्तरण गरिएको थियो। प्रतिवेदनमा राजदूत नियुक्तिका लागि विभिन्न ७ मापदण्ड उल्लेख गरिएको छ।































