काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि शुल्क घटाउन माग गरेकाे छ । नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वभाविक रूपमा शुल्क बढाइएको भन्दै तत्काल फिर्ता लिन माग गरेको हाे । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेविसंघ केन्द्रीय समितिले यस्ताे माग गरेकाे हाे ।
संघले इन्जिनियरिङ शिक्षा विद्यार्थीको व्यक्तित्व विकासमात्र नभएर राष्ट्र निर्माण र विकासको बलियो आधार भएकाले शुल्क वृद्धिको निर्णयबाट त्रिभुवन विश्वविद्यालय र इन्जिनियरिङ्ग अध्ययन संस्थान (आईओई) पछाडि हट्नुपर्ने माग गरेको हो ।
गुणस्तरीय इन्जिनियरिङ अध्ययनका लागि नेपाली विद्यार्थीहरू प्रत्येक वर्ष ठूलो संख्यामा विदेश गइरहेको अवस्थामा स्वदेशमा रहेका क्याम्पसहरुमा चर्को शुल्कवृद्धि गरिनु बुद्धिमानी नहुने नेविसंघको ठहर छ । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अनस्किल्ड मेनपावरले विदेशमा गएर पठाएको रेमिट्यान्सभन्दा बढि रकम विदेश अध्ययनका क्रममा बाहिरिरहेको बताए ।
नेपालमा इन्जिनियरिङ र प्राविधिक शिक्षा महँगो भएको र विद्यार्थीको ‘जव सेक्युरेटी’ नभएका कारणले विदेशमा गएर पढ्दै कमाउँदै गर्छु भनेर विद्यार्थीहरु विदेशिने गरेको उनको भनाई छ ।
उनले भने ‘सबैभन्दा नेपालको बेस्ट माइन्ड आईओई भनेर हामी मान्छौं । अनस्किल लेवर खाडीमा पठाएर हामीले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रेमिट्यान्सलाई हामीले मान्ने गर्छौ । तर, आज त्यो रेमिट्यन्सभन्दा बढी खर्बौ रुपैयाँ खर्च गरेर नेपाली विद्यार्थीहरु विदेशमा अध्ययन गर्न बाध्य छन् ।’
































