काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समावेशीतर्फ उपसभापति पदमा उद्योगी विनोद चौधरीले उम्मेदवारी दिएका छन्। उनले कांग्रेसलाई राजनीतिक स्वतन्त्रताको नेतृत्व गर्ने पार्टीबाट आर्थिक क्रान्तिको नेतृत्व गर्ने आधुनिक र प्रविधिमैत्री पार्टीका रूपमा स्थापित गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
चौधरीले नेपाली समाजमा नयाँ आशा र विश्वास सिर्जना गर्ने, युवा नेतृत्वलाई स्थापित गर्ने तथा राजनीति र अर्थनीतिलाई सँगसँगै अघि बढाउने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन्।
उनले बीपी कोइरालाको राजनीतिक दृष्टिकोण र सुवर्णशमशेर जबराको आर्थिक विकासको नीतिलाई संयोजन गर्दै कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने तथा पार्टी सभापति गगनकुमार थापाको समुन्नत नेपालको सोचलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
चौधरीले सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत युवालाई डिजिटल अर्थतन्त्रसँग जोड्ने, स्टार्टअप र रोजगारीका अवसर विस्तार गर्ने, स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने र क्षेत्रीय आर्थिक असमानता घटाउने एजेण्डालाई प्राथमिकतामा राखेका छन्।
त्यस्तै, भ्रष्टाचार अन्त्य, सुशासन, समावेशी विकास, सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरण तथा प्रत्येक वर्ष रोजगारी बजारमा आउने लाखौँ युवाका लागि स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य पनि उनले अघि सारेका छन्।
पार्टीभित्र पुस्तान्तरणसँगै अनुभवी नेतृत्वको ज्ञान र नयाँ पुस्ताको ऊर्जालाई जोडेर आधुनिक कांग्रेस निर्माण गर्ने तथा आन्तरिक लोकतन्त्र, पारदर्शिता, कार्यकर्ताको सम्मान र नागरिकप्रतिको जवाफदेहितालाई पार्टी संस्कृतिको आधार बनाउने चौधरीको प्रतिबद्धता छ।
यस्ता छन् चौधरीका प्रतिबद्धताहरुः
निराशातर्फ अगाडि बढिरहेको नेपाली समाजमा नयाँ आशा र नयाँ विश्वास श्रृजना गर्न
नेपाली कांग्रेसको नेतृत्वमा युवा नेतालाई स्थापित गर्न
राजनीतिक स्वतन्त्रताको नेतृत्व गर्ने गौरवशाली इतिहास भएको नेपाली कांग्रेसलाई आर्थिक क्रान्तिको पनि नेतृत्व गर्ने पार्टीका रुपमा स्थापित गरि नयाँ इतिहास लेख्न
राजनीति र अर्थनीतिलाई सँगसँगै अगाडि बढाउन
बिपी कोइरालाको दूरदर्शी राजनीतिक सोंच र सूवर्ण शमसेर जवराको आर्थिक विकासको नीतिलाई संयोजन गर्दै नेपाली कांग्रेसलाई नयाँ उचाईमा पुर्याउन
समुन्नत नेपाल निर्माण गर्ने आदरणीय पार्टी सभापति गगन कुमार थापाको सोंचलाई सहि अर्थमा कार्यान्वयन गर्न
नेपाली कांग्रेसको सरकारले २०४८ सालमा शुरू गरेको तर बीचमा अवरुद्ध भएको आर्थिक सुधारलाई वर्तमान समयको आवस्यकता अनुरूप तिब्र गतिमा अगाडि बढाउन
नेपाली कांग्रेसलाई वर्तमान विश्व परिवेश अनुकुल रुपान्तरण भएको आधुनिक प्रविधियुक्त पार्टीका रुपमा स्थापित गर्न
देशका युवाहरूलाई सूचना प्रविधि, आर्टिफिसियन इन्टेलिजेन्ससँग आवद्ध गराउदै देशलाई डिजिटल इकोनोमीतर्फ अगाडि बढाउन
जेन–जी मूभमेन्टको मर्मलाई आत्मसाथ गर्दै युवाहरुका आकांक्षालाई सम्बोधन गर्न
राजनीतिको केन्द्रमा आर्थिक विकासका एजेण्डा स्थापित गर्न
समावेशी विकास र तीव्र आर्थिक बृद्धिदरका माध्यमद्वारा आर्थिक विकासलाई कांग्रेसको मुख्य प्राथमिकता बनाउन
युवाहरुका लागि स्टार्टअपका पर्याप्त अवसरहरू श्रृजना गर्न
देशमा आन्तरिक लगानीकर्तालाई विना अवरोध लगानीको वातारण तयार गर्न
भ्रष्टाचारको अन्त्य र शुसासनको पक्षमा काम गर्न
नेपाललाई प्रत्यक्ष वैदेशिक लगानीको आकर्षण केन्द्र बनाउन
प्रत्येक बर्ष रोजगार बजारमा आउने साढे पाँच लाख युवाहरुलाई देशमै रोजगारीका अवसर श्रृजना गर्न सम्भव छ भनेर काम गर्न
क्षेत्रिय आर्थिक असमानता घटाउनका लागि प्रदेश र स्थानीय तहमा उद्योग तथा रोजगारी विस्तार गर्न
सीमान्तकृत र पिछडिएका समुदायलाई आर्थिक अवसरमा जोड्न, उद्यमशीलता, सीप र वित्तीय पहुँचमार्फत आर्थिक सशक्तीकरण गर्न
पार्टीभित्र पुस्तान्तरण, पुस्ताबीच सहकार्य, अनुभवी नेतृत्वको ज्ञान र नयाँ पुस्ताको ऊर्जा जोडेर आधुनिक कांग्रेस निर्माण गर्न
नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्र, पारदर्शिता, कार्यकर्ताको सम्मान र नागरिकप्रतिको जवाफदेहितालाई पार्टी संस्कृतिको आधार बनाउन


































