काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबारदेखि बन्दसत्र सुरु हुँदै छ। बन्दसत्रको पहिलो दिन महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन थापाले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र विधान संशोधनको मस्यौदामाथि छलफल गर्ने कार्यक्रम छ।
‘चार वर्षको नेतृत्व र आगामी कार्यदिशा’ शीर्षकमा तयार पारिएको थापाको प्रतिवेदनमा पार्टीको भावी राजनीतिक, वैचारिक र संगठनात्मक दिशाबारे धारणा समेटिएको छ। प्रतिवेदनमा पार्टी, राज्य र नागरिकबीचको विश्वास पुनःस्थापित गर्न ‘राष्ट्रिय पुनर्जागरण’को अवधारणा अघि सारिएको छ।
थापाले लोकतान्त्रिक सामर्थ्यको पुनर्निर्माणलाई राष्ट्रिय पुनर्जागरणसँग जोडेर विश्लेषण गरेका छन्।
थापाका अनुसार यसको मुख्य उद्देश्य प्रत्येक नेपालीको जीवनमा स्वतन्त्रता, क्षमता, न्याय, सम्मान र भविष्यप्रतिको भरोसा विस्तार गर्नु रहेको छ। महाधिवेशनले नयाँ नेतृत्वले निर्वाह गर्नुपर्ने राजनीतिक, वैचारिक र संगठनात्मक जिम्मेवारीसमेत स्पष्ट गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।






























