काठमाडौं । नेपाली कांग्रेसले शेरबहादुर देउवा पक्षको समानान्तर महाधिवेशनमा सहभागी हुने जनप्रतिनिधिलाई पदमुक्त गर्ने तयारी गरेको छ। पार्टी सभापति गगन थापाले एउटै दलका दुईवटा महाधिवेशन हुन नसक्ने चेतावनी दिँदै समानान्तर गतिविधिमा संलग्न जनप्रतिनिधिमाथि कारबाहीको संकेत गरेका हुन्।
कांग्रेसभित्र संस्थापन पक्ष र देउवा पक्षबीचको विवाद चर्किँदै जाँदा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका केही सांसद देउवा पक्षको समानान्तर महाधिवेशनमा खुलेर लागेका छन्।
प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसदमध्ये समानुपातिकतर्फका हरिना देवी कामी र सुशिला ढकाल आचार्य देउवा पक्षमा खुलेका छन्। निनु कुमारी कर्ण र रीना उप्रेती भने अहिलेसम्म कुनै पक्षमा खुलेका छैनन्।
राष्ट्रियसभामा भने देउवा पक्षमा लाग्ने सांसदको संख्या बढी छ। कांग्रेसका २४ राष्ट्रियसभा सदस्यमध्ये कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, जीतजंग बस्नेत, कृष्णप्रसाद पौडेल, खम्मबहादुर खाती, जगत तिमिल्सिना र नारायणदत्त भट्टलगायत देउवा पक्षमा खुलेका छन्। विष्णुदेवी पुडासैनी र चन्द्र केसी भने तटस्थ छन्।
प्रदेशसभातर्फ बागमतीमा सबैभन्दा बढी आठ जना सांसद देउवा पक्षमा सक्रिय छन्। ३६ कांग्रेस सांसद रहेको बागमतीमा विमल ठकुरी, दिपेन्द्र श्रेष्ठ, श्याम खड्का, गोविन्द लम्साल, विनु रायमाझी, माया श्रेष्ठ, कञ्चन वादे र मसिना खड्का देउवा पक्षमा खुलेका हुन्।
त्यस्तै, सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १७ सांसदमध्ये सात जना देउवा पक्षमा छन्। कमलबहादुर शाह, मेघराज खड्का, प्रकाशबहादुर बम, डम्मरी महरा, सरस्वती खड्का, शिवराज भट्ट र मधु भारती देउवा पक्षमा खुलेका छन्। विक्रम धामी र गीता चौधरी भने कुनै पक्षमा खुलेका छैनन्।
कोशी प्रदेशसभामा कांग्रेसका २९ सांसदमध्ये केदार कार्की, भूपेन्द्र राई र रामकुमार खत्री गरी तीन जना देउवा पक्षमा छन्।
गण्डकी प्रदेशसभामा २७ कांग्रेस सांसदमध्ये जीत शेरचन र दिपेन्द्र थापा तथा लुम्बिनी प्रदेशसभामा २८ सांसदमध्ये रोज राणा र माया पुन देउवा पक्षमा लागेका छन्। देउवा पक्षले रोज राणालाई लुम्बिनी प्रदेशसभापति र माया पुनलाई उपसभापतिको जिम्मेवारीसमेत दिएको छ।
मधेश र कर्णाली प्रदेशसभामा भने देउवा पक्षको समानान्तर महाधिवेशनमा सहभागी हुने कांग्रेस सांसद देखिएका छैनन्।
यसैबीच, कांग्रेस नेताहरूका अनुसार स्थानीय तहमा कांग्रेसबाट निर्वाचित भएर हाल देउवा पक्षको समानान्तर महाधिवेशनमा सक्रिय रहेका जनप्रतिनिधिहरूको विवरणसमेत संकलन भइरहेको छ।


































