काठमाडौं । सामाजिक सञ्जाल कम्पनी Meta फेरि एकपटक विवादमा तानिएको छ। कम्पनीले हालै सार्वजनिक गरेको एआई तस्बिर निर्माण गर्ने ‘म्युज इमेज’ फिचर आलोचनामा परेपछि अन्ततः हटाउने निर्णय गरेको हो।
उक्त फिचरमार्फत प्रयोगकर्ताले केवल प्रॉम्प्ट प्रयोग गरेर Instagram का सार्वजनिक खातालाई ट्याग गर्दै एआई तस्बिर बनाउन सक्थे। तर, यसले गोपनीयता र दुरुपयोगको जोखिम बढाएको भन्दै व्यापक आलोचना भएपछि कम्पनीले सेवा स्थगित गरेको जनाएको छ।
कम्पनीका अनुसार ‘म्युज इमेज’ सिर्जनात्मक प्रयोगका लागि ल्याइएको भए पनि यसको गलत प्रयोग बढेपछि हटाउनुपरेको हो। विशेषगरी सबै सार्वजनिक इन्स्टाग्राम खाताहरू स्वतः यसमा समावेश हुने (डिफल्ट अप्ट-इन) व्यवस्था रहेकोले प्रयोगकर्ताबीच चिन्ता बढेको थियो। यदि कसैले आफ्नो तस्बिर प्रयोग नहोस् भन्ने चाहेमा आफैं सेटिङ परिवर्तन गर्नुपर्ने अवस्था थियो।
यसका कारण बिना अनुमति कसैको पनि एआई तस्बिर बनाउन सकिने डर बढेको थियो। यद्यपि निजी खाताहरू र १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूलाई भने यस सुविधाबाट बाहिर राखिएको थियो।
हाल यो फिचर हटाइएपछि कसैको इन्स्टाग्राम खाता ट्याग गरेर एआई तस्बिर बनाउन खोज्दा प्रणालीले अस्वीकार गर्ने व्यवस्था गरिएको छ।
उक्त निर्णयप्रति सर्वसाधारण मात्र होइन, हलिउड क्षेत्रबाट पनि आलोचना आएको थियो। Creative Artists Agency जस्ता संस्थाहरूले कलाकारहरूको छवि दुरुपयोग हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए।






































