काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा संगिता पहाडी अर्याल पुनः जिम्मेवारीमा फर्किएकी छिन्। विशेष अदालतबाट आफूविरुद्ध लागेको आरोपमा सफाइ पाएपछि सरकारले उनको निलम्बन अन्त्य गर्दै पुनर्बहाली गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असार २६ गतेको निर्णयअनुसार उनी पुनः पदमा फर्किएकी हुन्। पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै अर्यालले संस्थाको हितमा निष्पक्ष र निष्ठापूर्वक काम गर्न सबैलाई आग्रह गरिन्।
उनले विगतका आरोपहरू अन्ततः गलत सावित भएको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थालाई अघि बढाउन योगदान पुर्याउने टोलीप्रति आभार व्यक्त गरिन्।
आगामी दिनमा कम्पनीभित्र सुधारका पहललाई तीव्र बनाउँदै सेवाको गुणस्तर उकास्ने र ग्राहक केन्द्रित कामलाई प्राथमिकता दिने उनले प्रतिबद्धता जनाइन्। साथै, सरकारको मार्गदर्शनअनुसार संस्थाको विश्वसनीयता र बजार छवि थप सुदृढ बनाउने लक्ष्य राखिएको उनले बताइन्।





































