काठमाडौँ । मोरङ प्रहरीले उद्योगी तथा नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य प्रकाश मुन्दडाको विराटनगरस्थित निवासमा छापा मारेको छ।
अवैध सामग्री र स्रोत नखुलेको रकम राखिएको हुन सक्ने सूचनाका आधारमा सोमबार बिहान प्रहरी टोलीले घरमा खोजतलास गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालको नेतृत्वमा पुगेको टोलीले छापा मार्दा आसपासका केही क्षेत्रको आवतजावतसमेत अस्थायी रूपमा नियन्त्रणमा लिइएको थियो।
खोजतलासका क्रममा मुन्दडा परिवारसँग सम्बन्धित देवनरा ग्रुपका व्यवसाय तथा चाँदी कारोबारमाथि समेत प्रहरीको ध्यान केन्द्रित भएको अनुमान गरिएको छ।
प्रहरीका अनुसार खानतलासीका क्रममा कुनै पनि अवैध सामग्री फेला नपरेपछि टोली फर्किएको छ।
यता, नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले छापाको कारणबारे स्पष्ट जानकारी नपाइएको बताएका छन्। उनले सुरक्षा निकायबाट पनि औपचारिक जानकारी नआएको उल्लेख गरेका छन्।






































