काठमाडौं । बजार अनुगमनका क्रममा कारबाहीमा परेर पनि जरिवाना रकम नबुझाएका व्यावसायिक फर्म तथा कम्पनीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक महिनाभित्र रकम दाखिला गर्न निर्देशन दिएको छ।
विभागले अत्यन्त जरुरी सूचना जारी गर्दै तोकिएको जरिवाना सरकारी राजस्व खातामा जम्मा गरी त्यसको प्रमाण पेस गर्न अल्टिमेटम दिएको हो।
विभागका अनुसार उपभोक्ताको हक, हित र अधिकार संरक्षण तथा स्वच्छ र प्रतिस्पर्धी बजार व्यवस्थापनका लागि विभाग र मातहतका कार्यालयबाट विभिन्न मितिमा नियमित तथा आकस्मिक बजार अनुगमन गरिएको थियो। त्यसक्रममा प्रचलित कानुनविपरीत व्यवसाय सञ्चालन गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ र ३९ बमोजिम निरीक्षण अधिकृतले सम्बन्धित फर्म, कम्पनी तथा प्रतिष्ठानलाई तत्काल जरिवाना गरेका थिए।
तर, कतिपय व्यवसायीले हालसम्म पनि जरिवाना रकम सरकारी राजस्व खातामा दाखिला नगरेको र त्यसको प्रमाणसमेत विभागमा पेस नगरेको अभिलेखबाट देखिएको विभागले जनाएको छ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५, उपभोक्ता संरक्षण नियमावली, २०७६, प्राइभेट फर्म रजिस्ट्रेसन ऐन, २०१४, साझेदारी ऐन, २०२०, कम्पनी ऐन, २०६३, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१, गुणस्तर (प्रमाण–चिन्ह) ऐन, २०३७ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ लगायतका प्रचलित कानुनबमोजिम जरिवाना तिर्न बाँकी रहेका सबै व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानलाई सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र रकम बुझाउन निर्देशन दिएको छ।


































