काठमाडौँ– नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको छ । सिंगापुरमा नेसनल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा ६४ बल बाँकी हुँदै नौ ओभर दुई बलमा पूरा गरेको हो । नेपालका लागि लोकेस बमले सर्वाधिक ४४ रन बनाए । उनले २६ बलको सामना गर्दा ७ चौका र एक छक्काको मद्दतमा नटआउट ४४ रन बनाएका हुन् । रोहित पौडेलले नटआउट २० बलमा २१ रन बनाए । ओपनर कुशल भुर्तेलले २० रन बनाउँदा आशिफ शेख १ रनमा आउट भए ।
टस जितेर सुरुमा ब्याटिङ गरेको ओमानलाई नेपालले १९ ओभर ४ बलमा ९४ रन बनाउँदा अलआउट गरेको थियो ।
ओमानविरुद्ध सुरुदेखि नै कसिलो बलिङ गरेको नेपालका लागि करण केसीले तीन विकेट हात पारे । चार ओभर बलिङ गर्दा एक मेडनसहित २० रन खर्चिएर केसीले तीन विकेट हात पारेका हुन् । समान चार ओभर बलिङ गरेका सन्दीप लामिछानेले १९ रन खर्चिएर दुई विकेट हात पारे भने सोमपाल कामीले चार ओभर बलिङ गर्दा दुई विकेट हात पारे । उनले एक मेडन राख्दै २६ रन खर्चिएर दुई विकेट लिएका हुन् । नेपालका लागि साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एकएक विकेट हात पारे ।





































