काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विगतमा भएका गम्भीर आपराधिक घटनालाई नेपाल प्रहरीले नबिर्सने बताएका छन्। अनुसन्धानमा समय लागे पनि अपराधमा संलग्न व्यक्ति जुनसुकै समयमा कानुनी कारबाहीको दायरामा आउन सक्ने उनको भनाइ छ।
राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा महानिरीक्षक कार्कीले प्रहरी संगठनमा विगतका आपराधिक घटनाको अभिलेख तथा संस्थागत स्मरण सुरक्षित रहने बताए। व्यक्तिको स्मरण समयसँगै कमजोर भए पनि अपराध अनुसन्धान गर्ने संस्थाले घटनालाई निरन्तर पछ्याइरहने उनको भनाइ छ।
उनले पुराना चर्चित तथा गम्भीर प्रकृतिका अपराध अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको जानकारी दिए। कतिपय घटनामा अनुसन्धानबाट सकारात्मक उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले केन्द्रीय अनुसन्धान ब्युरोमार्फत समेत पुराना जघन्य अपराधको अनुसन्धान भइरहेको बताए।
“नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै अघि बढिरहेका छौँ,” कार्कीले भने।
यद्यपि पुराना सबै घटनामा अपेक्षित सफलता हासिल गर्न नसकिएको उनले स्वीकार गरे। पुराना घटनाका प्रमाण, तथ्य तथा अनुसन्धानका नयाँ आधारको निरन्तर अध्ययन गरेर दोषीसम्म पुग्ने प्रयास भइरहेको उनले बताए।
महानिरीक्षक कार्कीले प्रविधिको तीव्र विकास र समाजको बदलिँदो स्वरूपसँगै अपराधका शैलीसमेत परिवर्तन भइरहेकाले प्रहरी अनुसन्धानलाई पनि आधुनिक बनाउनुपर्ने बताए।
परम्परागत अनुसन्धान विधिले मात्रै पछिल्ला सुरक्षा चुनौती सामना गर्न कठिन हुने उनको भनाइ छ। प्रहरी कर्मचारीको कार्यसम्पादन सुधार गर्न नयाँ सूचक तयार पारिएको र त्यसका आधारमा कर्मचारीको मूल्याङ्कन गर्ने प्रणाली विकास गरिएको उनले जानकारी दिए।
उनका अनुसार कार्यसम्पादनमा आधारित मूल्याङ्कनले प्रहरी कर्मचारीलाई आफ्नो कमजोरी सुधार्ने र जिम्मेवारीप्रति थप उत्प्रेरित हुने अवसर दिनेछ।
प्रहरी सेवालाई क्रमशः प्रविधिमैत्री बनाउँदै लगिएको पनि कार्कीले बताए। नागरिकले सामान्य सेवाका लागि अनिवार्य रूपमा प्रहरी कार्यालयमै पुग्नुपर्ने अवस्था हटाउँदै घरबाटै आवेदन तथा निवेदन दिन र त्यसको अवस्थाबारे जानकारी लिन सक्ने प्रणाली विकास भइरहेको उनले बताए।
प्रविधिको प्रयोगबाट सेवा प्रवाहलाई सहज, छिटो र नागरिकमैत्री बनाउने प्रयास भइरहेको उनको भनाइ छ।
पछिल्लो समय प्रविधिको प्रयोगबाट हुने अपराध तथा आर्थिक अपराधका घटना बढ्दै गएको भन्दै कार्कीले यस्ता अपराधको अनुसन्धानका लागि विशेष दक्ष जनशक्ति आवश्यक रहेको बताए।
अपराधको स्वरूप परिवर्तन भइरहेकाले सोहीअनुसार प्रहरी जनशक्ति विकास तथा परिचालन गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए। साइबर तथा आर्थिक अपराध अनुसन्धानमा आवश्यक सीप र प्रविधि विकास गर्न प्रहरी संगठनले प्राथमिकता दिएको उनको भनाइ छ।
अन्तर्राष्ट्रिय प्रकृतिका अपराध नियन्त्रणका लागि विभिन्न देशका प्रहरी संगठन तथा अन्तर्राष्ट्रिय प्रहरी संगठनमार्फत अन्य मुलुकका विशेषज्ञ अनुसन्धान इकाइसँग समेत समन्वय भइरहेको कार्कीले जानकारी दिए।
नेपाल प्रहरीले विश्वस्तरमा विकसित हुँदै गएको आधुनिक प्रहरी अभ्यासलाई आत्मसात् गर्दै अनुसन्धान क्षमतालाई थप सुदृढ बनाइरहेको उनले बताए।
नेपाल प्रहरी नागरिकसँग प्रत्यक्ष जोडिएर राज्यको प्रतिनिधित्व गर्ने प्रमुख संगठन भएकाले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न नागरिकको सहयोग अपरिहार्य रहेको कार्कीले बताए।
अपराध नियन्त्रण र अनुसन्धानमा नागरिकबाट प्राप्त सूचना महत्वपूर्ण हुने भन्दै उनले आपराधिक गतिविधिमा संलग्न व्यक्तिबारे प्रहरीलाई जानकारी गराउन आमनागरिकसँग आग्रह गरे।
नागरिक र प्रहरीबीचको सहकार्य बलियो भएमा अपराध नियन्त्रण तथा अनुसन्धान प्रभावकारी बनाउन सकिने उनको भनाइ छ।





































