सिरहा । सिरहामा परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन र स्मार्ट घडी नष्ट गरिएको विषयलाई लिएर विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचनाअनुसार सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहाको अगाडि प्रदर्शन गरिनेछ। सबै विद्यार्थीलाई सहभागिताका लागि आह्वान गरिएको छ। संयुक्त विद्यार्थी संगठनको ब्यानरमा ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने नारासहित आन्दोलनको तयारी गरिएको हो।
विद्यार्थी संगठनहरूले जफत गरिएका उपकरणको उचित क्षतिपूर्ति, विद्यार्थीमाथि भएको व्यवहारको अन्त्य तथा पीडितलाई न्याय सुनिश्चित गर्न दबाब दिन प्रदर्शन गर्न लागिएको बताएका छन्। अनेरास्ववियु मधेश प्रदेश संयोजक सतिशचन्द्र सिंहका अनुसार सम्बन्धित निकायलाई जिम्मेवार बनाउने र माग सम्बोधन गराउने उद्देश्यले आन्दोलन आयोजना गरिएको हो।
गत चैतमा सञ्चालन भएका एसईई र कक्षा–१२ परीक्षाका क्रममा जिल्ला प्रशासन कार्यालय सिरहाले करिब ५०० मोबाइल फोन र केही स्मार्ट घडी जफत गरेको थियो। प्रशासनले परीक्षा अनुशासन कायम राख्न र भविष्यमा यस्ता उपकरणको दुरुपयोग रोक्न ती सामग्री नष्ट गरिएको जनाएको छ।
बरामद गरिएका सामग्रीमा सात वटा आईफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्ट वाच रहेका थिए। ती उपकरणको कुल बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ।
प्राप्त जानकारीअनुसार जफत गरिएका मोबाइल र घडीहरूलाई पानीमा डुबाएर प्रयोग अयोग्य बनाइएको थियो। त्यसपछि पूर्ण रूपमा नष्ट गरिएको बताइएको छ। यस कार्यका लागि शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको संयोजकत्वमा प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको थियो।
उपसमितिले उपकरणहरू पुनः प्रयोग गर्न नसकिने अवस्थामा पुर्याएर नष्ट गर्ने निर्णय गरेको जनाएको छ। यद्यपि, प्रशासनको उक्त कदमप्रति अभिभावक, कानुन व्यवसायी तथा विभिन्न विद्यार्थी संगठनहरूले असन्तुष्टि जनाउँदै क्षतिपूर्ति र न्यायको माग गरेका छन्।





































