तेहरान । पश्चिम एसियामा बढ्दो तनाव र क्षेत्रीय सुरक्षासम्बन्धी चुनौतीबारे छलफल गर्न साउदी अरेबिया, टर्की र पाकिस्तानका वरिष्ठ अधिकारी इरानको राजधानी तेहरान जाने भएका छन्। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बघेरी कानीले सोमबार यसबारे जानकारी दिएका हुन्। यद्यपि, बैठकको मिति भने सार्वजनिक गरिएको छैन।
कानीका अनुसार बैठकमा साउदी अरेबियाका रक्षामन्त्री खालिद बिन सलमान, पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनीर र टर्कीका गुप्तचर प्रमुख इब्राहिम कालिन सहभागी हुनेछन्। उनीहरूले इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईसँग क्षेत्रीय सुरक्षा र स्थिरताका विषयमा छलफल गर्ने कार्यक्रम छ।
इरानको सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा कानीले चार देशबीचको बैठकले दीर्घकालीन क्षेत्रीय सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए। यस पहलले पश्चिम एसियामा स्थिरता स्थापना गर्न सहयोग पुग्ने विश्वाससमेत उनले व्यक्त गरे।
उनका अनुसार पाकिस्तानका सेना प्रमुख मुनीरले गत साता तेहरान भ्रमण गरेका बेला चार देशबीचको बैठकको प्रस्ताव अघि सारिएको थियो।
फेब्रुअरीदेखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि पश्चिम एसियामा द्वन्द्व चर्किएको छ। आक्रमण सुरु हुनुअघि वासिङ्टन र तेहरानबीच इरानको आणविक कार्यक्रमलाई लिएर वार्ता भइरहेको थियो।
अप्रिलमा भएको युद्धविरामले तीव्र बमबारीको प्रारम्भिक चरण अन्त्य गरे पनि रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्गलाई लिएर तनाव कायम छ। विश्वमा खपत हुने तेल तथा तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौँ भाग यही जलमार्ग हुँदै ओसारपसार हुने गर्छ।
इरानले हर्मुज जलमार्गमाथि आफ्नो नियन्त्रण रहेको दाबी गर्दै अनुमति नलिई पार गर्न खोज्ने जहाजलाई नियमित रूपमा निशाना बनाइने जनाएको छ। यसको जवाफमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाएको छ।






































