काठमाडौँ । वसन्तकालीन आरोहण सिजनअन्तर्गत बुधबार एकै दिन २७४ जना आरोही सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण सञ्चालक सङ्घका अनुसार वैशाख ३० गतेदेखि आरोहण खुला भएपछि यो संख्या अहिलेसम्मकै एकै दिनको उच्चतम हो।
सङ्घका महासचिव ऋषिराम भण्डारी का अनुसार अघिल्लो साताभरिमा १४० जना आरोही सफल भएर फर्किएका थिए भने बुधबार मात्रै ठूलो सङ्ख्यामा आरोहण सम्पन्न भएको हो, जसलाई नेपाली पर्वतीय पर्यटनमा नयाँ रेकर्डका रूपमा लिइएको छ।
यद्यपि पछिल्ला दिनहरूमा हिमआँधी बढेको छ। मौसम अनुकूल रहेमा आगामी एक साताभित्र थप आरोहीहरूले शिखर चुम्ने अपेक्षा गरिएको छ, जसले यस वर्ष नयाँ कीर्तिमान कायम गर्न सक्ने अनुमान गरिएको छ।
यसैबीच, ल्होत्से मा ५० भन्दा बढी र नुप्से मा १६ जनाभन्दा बढी आरोही सफल भएका छन्। यस वर्ष ल्होत्सेका लागि १४३ र नुप्सेका लागि ५६ जनाले अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार यस सिजनमा सगरमाथा आरोहणका लागि ४९४ जनाले अनुमति लिएका छन्, जुन अहिलेसम्मकै उच्च संख्या हो। सहयोगी शेर्पासहित झण्डै एक हजारजति व्यक्ति शिखर पुग्ने अपेक्षा गरिएको छ। ५५ देशका आरोही सहभागी रहेको यस सिजनमा चीन, अमेरिका र भारतका आरोहीहरूको संख्या उल्लेखनीय छ।




































