काठमाडौं । हराएको सिमकार्डको दुरुपयोग गरी करिब २४ लाख ४७ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीका रोशन पहाडी र डडेल्धुराका सुभाष ओझा रहेका छन्। उनीहरूलाई क्रमशः भक्तपुरको सल्लाघारी र ललितपुरको एकान्तकुनाबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पीडित कान्छी लामाको नाममा वि.सं. २०७० मा जारी भएको सिमकार्ड प्रयोग गर्दै उनीले बैंक खाता खोलेकी थिइन् र मोबाइल बैंकिङ सेवा पनि लिएकी थिइन्। तर केही वर्षपछि सो सिमकार्ड हराएपछि त्यसको दुरुपयोग भएको पाइएको छ।
अनुसन्धानका क्रममा रोशन पहाडीले सो हराएको सिमकार्ड प्रयोगमा ल्याएको र पछि उक्त नम्बर पुनः सक्रिय भएपछि बैंक खातासम्बन्धी सन्देशहरू उनको मोबाइलमा आउन थालेको खुलेको प्रहरीले जनाएको छ।
त्यसपछि पहाडी र ओझाले मिलेर मोबाइल बैंकिङ प्रणालीको दुरुपयोग गर्दै विभिन्न व्यक्तिहरूलाई प्रयोग गरी रकम ईसेवा, खल्ती लगायतका डिजिटल वालेट तथा अन्य बैंक खातामा स्थानान्तरण गराएर झिक्ने गरेको देखिएको छ।
प्रहरीका अनुसार उनीहरूले विभिन्न चरणमा गरी कुल २४ लाख ४७ हजार रुपैयाँ विभिन्न खातामा सारेर हिनामिना गरेका हुन्। पक्राउ परेका दुवै जनामाथि ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।





































