बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९, छातापिप्रास्थित त्रिवेणी स्पिनिङ धागो उद्योगमा शुक्रबार बिहान ठूलो आगलागी हुँदा करोडौँको क्षति भएको छ।
प्रहरीका अनुसार बिहान करिब १०:४० बजे उद्योगभित्र विद्युत् सर्ट सर्किटका कारण आगलागी सुरु भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो लागेको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बारा, सशस्त्र प्रहरी र विभिन्न इलाका प्रहरी कार्यालयका टोली घटनास्थलमा खटिएका थिए।
आगो नियन्त्रणका लागि जितपुरसिमरा, कलैया, वीरगञ्ज, अमलेखगञ्ज, कोल्हवी, निजगढलगायतका स्थानीय तहका दमकलसहित नेपाली सेनाका इकाइहरूको सहयोगमा कुल १२ वटा दमकल परिचालन गरिएको थियो। स्थानीय बासिन्दा र उद्योगका कामदारहरू पनि आगो निभाउने कार्यमा सक्रिय रूपमा जुटेका थिए।
लगातारको प्रयासपछि दिउँसो करिब १ बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीका कारण आरसिसी संरचना भएको टिनले छाएको ठूलो गोदाम पूर्ण रूपमा नष्ट भएको छ भने त्यहाँ भण्डारण गरिएको करिब १८० टन कपास जलेर नष्ट भएको छ।
यसैगरी, उद्योगमा प्रयोग हुने कन्डेन्सर, एमबिओ र अन्य मेसिनरी उपकरणहरू पनि जलेर काम नलाग्ने भएका छन्। प्रारम्भिक विवरणअनुसार आगलागीबाट १० करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ।
हाल घटनापछि क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।





































