काठमाडौँ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकको वर्तमान राजनीतिक प्रणालीप्रति कडा टिप्पणी गर्दै गणतान्त्रिक व्यवस्था दीर्घकालसम्म टिक्न नसक्ने दाबी गरेका छन्।
आइतबार काठमाडौँमा आयोजित ‘राष्ट्रवादी पार्टी गठन सम्बन्धी जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रम’ मा बोल्दै उनले सरकारको नीति र कार्यशैलीप्रति आक्रोश व्यक्त गरे। उनका अनुसार सहकारी ठगीमा संलग्न व्यक्तिहरूको दायित्व राज्यको करबाट व्यहोर्ने प्रयास भए देशमा अस्थिरता बढ्नेछ।
प्रसाईंले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित टिप्पणी गर्दै सामाजिक सञ्जालमा देखिने आलोचना नियोजित रूपमा गराइएको दाबीसमेत गरे। साथै उनले अब देशमा नयाँ आन्दोलन आवश्यक रहेको उल्लेख गर्दै त्यसले वर्तमान राजनीतिक संरचनालाई बदल्ने जिकिर गरे।
उनले सरकार स्वास्थ्य बीमा भुक्तानी, किसानको बक्यौता र कृषि सामग्री आपूर्तिमा असफल भएको आरोप पनि लगाए। साथै नेपालमा राजसंस्था पुनःस्थापना र हिन्दु अधिराज्यको अवधारणा अघि बढाउन आफूहरू सक्रिय रहेको उनले बताए।
उनका अनुसार आफू र नेता धवल शमशेर राणाबीच नयाँ राजनीतिक दल निर्माणका लागि सहकार्य भइरहेको छ र यसमा कुनै विभाजन नहुने दाबी पनि गरिएको छ।




































