काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र राप्रपा परित्याग गरेका धवलशमशेर राणाबीच नयाँ राजनीतिक दल गठन गर्ने सहमति भएको छ।
शुक्रबार उनीहरूबीच ११ बुँदे लिखित समझदारीपत्रमा हस्ताक्षर भएको जनाइएको छ। उक्त सहमतिअनुसार नयाँ दलले राष्ट्रवाद, सुशासन र वैकल्पिक राजनीतिक दृष्टिकोणलाई मुख्य आधार बनाउने बताइएको छ।
समझदारीमा नेपालको भौगोलिक पहिचान, किराँत र बौद्धसहितको सनातन हिन्दु अधिराज्यको अवधारणा, तथा पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शनलाई आधार बनाउने उल्लेख छ।
त्यसैगरी सुधारमुखी संघीयता, दोहोरो नागरिकता सम्बन्धी व्यवस्था, असंलग्न परराष्ट्र नीति, भ्रष्टाचारमुक्त समाज, तथा स्वदेशी उत्पादनमा आधारित अर्थतन्त्रलाई प्राथमिकतामा राखिएको छ।
समझदारीअनुसार लघुवित्त, सहकारी, बैंक तथा मिटरब्याजी समस्याबाट प्रभावित भूमिहीन तथा सुकुमबासी नागरिकको दीर्घकालीन समाधान गर्ने विषय पनि समेटिएको छ।
नयाँ दलमा विचार मिल्ने अन्य राजनीतिक समूह, अभियान र व्यक्तिहरूलाई समेत समेटिने तथा ६० प्रतिशत युवा र महिलाको सहभागिता सुनिश्चित गरिने उल्लेख छ।
स्रोतका अनुसार मलमास सकिएपछि नयाँ राजनीतिक दल औपचारिक रूपमा घोषणा गर्ने तयारी गरिएको छ।





































