काठमाडौँ — मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच साउदी अरेबिया, टर्की र पाकिस्तानले सामूहिक सुरक्षा सहकार्यलाई नयाँ उचाइ दिने उद्देश्यसहित त्रिदेशीय रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्।
साउदी अरेबियाको पवित्र सहर मक्कामा आयोजित शिखर सम्मेलनका क्रममा भएको सम्झौतामा साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रसेप तैयप एर्दोगान र पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार तीनमध्ये कुनै एक देशमाथि हुने सैन्य आक्रमणलाई बाँकी दुई देशमाथिको आक्रमणका रूपमा लिइनेछ। यसले तीनै राष्ट्रको सामूहिक सुरक्षा र प्रतिरोधात्मक क्षमता मजबुत बनाउने उद्देश्य राखेको बताइएको छ।
करिब एक वर्षको वार्तापछि सम्झौता
साउदी अरेबिया, पाकिस्तान र टर्कीबीच भएको यो रक्षा सम्झौता करिब एक वर्ष लामो वार्तापछि भएको हो।
साउदी अरब र पाकिस्तानबीच लामो समयदेखि रक्षा सम्बन्ध रहँदै आएको छ। पाकिस्तानले दशकौँदेखि साउदी सेनालाई तालिम तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ।
त्यस्तै, टर्की र पाकिस्तानबीच युद्धपोत, प्रशिक्षण विमान तथा अन्य रक्षा प्रविधिको क्षेत्रमा सहकार्य हुँदै आएको छ।
नयाँ क्षेत्रीय शक्ति केन्द्र बन्न सक्ने
नेटोको दोस्रो ठूलो सैन्य शक्ति मानिने टर्की, परमाणु क्षमतासम्पन्न पाकिस्तान र आर्थिक तथा रणनीतिक रूपमा प्रभावशाली साउदी अरेबियाबीचको यो सहकार्यलाई मध्यपूर्वमा नयाँ शक्ति संरचनाको सुरुवातका रूपमा हेरिएको छ।
विश्लेषकहरूका अनुसार तीनै देशसँग फरक–फरक रणनीतिक क्षमता छन्। टर्कीसँग आधुनिक रक्षा प्रविधि र सैन्य अनुभव छ भने पाकिस्तानसँग ठूलो सैन्य संरचना र परमाणु क्षमता छ। साउदी अरबसँग आर्थिक स्रोत र क्षेत्रीय प्रभाव रहेको छ।
बढ्दो क्षेत्रीय तनावको पृष्ठभूमि
इरानमाथि अमेरिका र इजरायलबाट भएको आक्रमणपछि मध्यपूर्वमा सुरक्षा तनाव थप बढेको छ। यसबीच साउदी अरबले इरानसँगै यमनका हुथी विद्रोही तथा इराकका शिया सशस्त्र समूहबाट पनि सुरक्षा चुनौती सामना गरिरहेको बताइएको छ।
यसले साउदी अरबको तेल निर्यात, आर्थिक विकास योजना र क्षेत्रीय सुरक्षामा चिन्ता बढाएको छ।
होर्मुज जलमार्ग सहज बनाउने प्रयास
मध्यपूर्व तनावका कारण प्रभावित बनेको होर्मुज जलमार्गमा व्यापारिक जहाजको आवागमन सहज बनाउन इरान र ओमानका प्रतिनिधिहरूबीच वाणिज्यिक समुद्री कोरिडोर निर्माणबारे सहमति भएको बताइएको छ।
अमेरिकाले इरानविरुद्ध समुद्री दबाब बढाइरहेको अवस्थामा यो प्रयासले विश्वव्यापी इन्धन आपूर्ति र तेल बजारमा देखिएको अस्थिरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्झौतापछि हुथीको मिसाइल र ड्रोन आक्रमण
त्रिदेशीय रक्षा सम्झौता भएको केही समयपछि यमनका हुथी विद्रोहीहरूले साउदी समर्थित क्षेत्रहरू हद्रमाउत र मारिबमा मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरिएको छ।
हुथी समूहले साउदी अरेबियाका सहयोगीहरूमाथि आक्रमण जारी राख्ने चेतावनी दिएको छ। यसैबीच इस्लामिक सहयोग संगठन (ओआईसी)ले साउदीको नज्रान क्षेत्रमा भएको आक्रमणको निन्दा गरेको छ।
यो सम्झौताले मध्यपूर्वको सुरक्षा समीकरणमा दीर्घकालीन प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।


































