काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम (क्यूआरटी)’ गठन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै पनि अवस्थामा ग्यास अभाव हुन नदिन निर्देशन दिएपछि उक्त टोली गठन गरिएको हो।
गठित क्यूआरटीमा उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सहभागी छन्। टोलीमा उद्योग मन्त्रालयका मंगल विष्ट, नेपाल आयल निगमका इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगका आयुस नेपाल र कुलप्रसाद राई सदस्यका रूपमा रहेका छन्।
यो टोलीले देशका जुनसुकै स्थानमा ग्यास अभाव वा वितरणसम्बन्धी समस्या देखिएमा तत्काल समन्वय गरी समाधान गर्नेछ।
निगमले उपभोक्तालाई ग्यास आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो परे कार्यालय समयभित्र हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ।

































