काठमाडौं। एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म एनएमबि बैंकले २ अर्ब ३५ लाख ४० हजार खुद नाफा कमाएको छ ।
बैंकको नाफा गत आवको यसै अवधिको तुलनामा ४५.६१ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा बैंकले १ अर्ब ३७ करोड ५९ लाख नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब .३ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
बैंकको ब्याज आम्दानी तथा सञ्चालन आम्दानी बढेपछि सञ्चालन नाफा ५१ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ९५ करोड ७६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४७ लाख रुपैयाँमा झरेको छ । बैंकको खुद ब्याज आम्दानी १३.७२ प्रतिशत, सञ्चालन आम्दानी १४।२८ प्रतिशतले बढेको छ । तर, बैंकको खराब कर्जा भने बढेको छ । खराब कर्जा २.८६ प्रतिशतबाट ३.९६ प्रतिशत पुगेको छ ।
१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३५ करोड रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८४ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा छ ।

































