काठमाडौं । नेपाल खुला विश्वविद्यालयको व्यवस्थापन र कानुन सङ्काय तथा वचन बचत तथा ऋण सहकारी संस्था लि. (बचन साकोस) बीच शैक्षिक अनुसन्धान र सहकार्यलाई प्रवर्द्धन गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा नेपाल खुला विश्वविद्यालयको व्यवस्थापन र कानुन संकायका डीन, प्राध्यापक डा. अरहन स्थापित र बचन सहकारी अनुसन्धान इकाईका प्रमुख डा. देशमर्दन बस्न्यातले हस्ताक्षर गरेका हुन् ।
सहकारीसम्बन्धी शैक्षिक र अनुसन्धान गतिविधिहरूमा संयुक्त प्रयास गर्नुका साथै विद्यार्थीहरूलाई फाइदा र्पुयाउन र नेपालमा शैक्षिक पारिस्थिती लाई सुदृढ बनाउनमा यो सम्झौताले महत्त्वपूर्ण योगदान पुग्ने बताइएको छ ।
यो सम्झौताले भविष्यमा सहकार्यका सर्तहरूलाई स्पष्ट पार्दै शैक्षिक सहकार्यका आपसी फाइदाहरूलाई मुख्य प्राथमिकता दिएको छ । जस अन्तर्गत दुवै पक्षले सहकारी क्षेत्रका प्रबन्धन, व्यवसाय र कानुनी समस्याहरूमा अनुसन्धान अघि बढाउन संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस साझेदारीअन्तर्गतको एक प्रमुख पहल भनेको नेपाल खुला विश्वविद्यालयका व्यवस्थापन र कानुन संकायका विद्यार्थीहरूलाई सहकारीहरूको कार्य प्रणालीमा व्यवहारिक जानकारी प्राप्त गर्दै प्रभावशाली अनुसन्धानमा संलग्न गराउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
यस्तै नेपाल खुला विश्वविद्यालय का विद्यार्थीहरूको अनुसन्धान क्षमता वृद्धि गर्ने उद्देश्यले फेलोशिप र अन्य शैक्षिक स्रोतहरूको सिर्जना गर्न पनि मद्दत र्पुयाउने बताइएको छ ।
नेपाल खुला विश्वविद्यालयका डा.अरहनका अनुसार यो साझेदारी दुवै संस्थाका लागि नयाँ अध्यायको सुरुआत हो । उनले भने, ‘हामीले हाम्रो विशेषज्ञता र स्रोतहरूलाई जोड्दै विद्यार्थीहरूलाई महत्त्वपूर्ण अनुसन्धान अवसरहरू प्रदान गर्न सक्छौँ । जसले नेपालमा सहकारी अध्ययनको प्रगतिको लागि योगदान र्पुयाउनेछ ।’
सम्झौतामा वचन बचत तथा ऋण सहकारीका अध्यक्ष मुकुन्द राज खनालले फेलोशिप कार्यक्रमले नेपालमा सहकारी अध्ययनलाई प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै भने, ‘यस कार्यक्रमले सहकारी गतिविधिहरूको क्षेत्रमा अनुसन्धान प्रयासलाई सुदृढ बनाउनेछ, जसले विद्यार्थी र प्राध्यापकहरूलाई फाइदा र्पुयाउनेछ ।’
सम्झौताअन्तर्गत, नेपाल खुला विश्वविद्यालय द्वारा सिफारिस गरिएका योग्य विद्यार्थीहरूका लागि प्रारम्भिक फेलोशिप कोषको रूपमा वार्षिक रु. ३५,००० वितरण गरिनेछ ।
फेलोशिपहरू पिएचडी, एमफिल, मास्टर्स, पोस्ट–ग्र्याजुएट डिप्लोमा र स्नातक डिग्रीका विद्यार्थीहरूका लागि उपलब्ध हुनेछ । साथै बचन साकोसमा केन्द्रित भई अनुसन्धान गर्ने विद्यार्थीहरूलाई फेलोशिप राशिको १५ प्रतिशत अतिरिक्त प्रदान गरिनेछ ।
दुवै संस्थाले नेपालमा सहकारी क्षेत्रको प्रवद्धनसँग सम्बन्धित क्षेत्रमा शैक्षिक समुदायको वृद्धि र विकासमा योगदान र्पुयाउने प्रतिबद्धता समेत जनाएका छन् ।



































