काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले घरजग्गामा कुल २ खर्ब ३२ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
यो रकम अघिल्लो वर्षकै तुलनामा ७.०३ प्रतिशतले बढेको हो। देशका २० वटा वाणिज्य बैंकले जेठसम्म घरजग्गामा यस वर्ष सवा २ खर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेका छन्।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले २ खर्ब १७ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए।
यस अवधिमा सबैभन्दा धेरै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले घरजग्गामा कर्जा प्रवाह गरेको छ । यस बैंकले जेठसम्म २५ अर्ब ६ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ, अघिल्लो वर्षको तुलनामा ४.२४ प्रतिशतले बढेको हो।
त्यस्तै, एनआईसी एसिया बैंकले २४ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गर्दै दोस्रो स्थानमा रहेको छ, तर अघिल्लो वर्षको तुलनामा यस बैंकको कर्जा १४.६० प्रतिशतले घटेको हो। तेस्रो स्थानमा रहेको नबिल बैंकले २४ अर्ब ३६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन ६.९७ प्रतिशतले वृद्धि हो।
समीक्षा अवधिसम्म १५ वटा बैंकले घरजग्गामा कर्जा लगानी वृद्धि गरेका छन् भने ५ बैंकको कर्जा प्रवाहमा कमी देखिएको छ। यस अवधिमा कुमारी बैंकको कर्जा लगानीमा ८४.४२ प्रतिशतले वृद्धि भएको छ भने नेपाल बैंकबाट कर्जा ४२.७७ प्रतिशतले घटेको छ।
त्यसका साथै जेष्ठ महिनासम्म हिमालयन बैंक, सिद्धार्थ बैंक र नेपाल एसबीआई बैंकले पनि घरजग्गामा गएको कर्जा घटाएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।

































