काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा बैकहरूको १० अर्ब १९ करोड रुपैयाँभन्दा बढी गैरबैंकिङ सम्पत्ति थपिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गएको असार मसान्तसम्म ३५ अर्ब ५० करोड रुपैयाँ रहेको गैरबैंकिङ सम्पत्ति यो जेठ मसान्तसम्म ४५ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।
कर्जा बजारमा कर्जाको माग नबढ्नु र ब्याज आम्दानी घट्नुका कारण गैरबैंकिङ सम्पत्तिमा वृद्धि हुदै गएको छ । सबैभन्दा धेरै असर वाणिज्य बैंकहरूमा देखिएको छ।
वाणिज्य बैकहरूको औसत खराब कर्जा एनपीएल ५.०५ प्रतिशत पुगेको छ । यता, विकास बैकहरूको एनपीएल ५.५६ प्रतिशत पुगेको छ भने उनीहरूको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ३६ करोडबाट बढेर ४ अर्ब १६ करोड पुगेको छ।
त्यस्तै, फाइनान्स कम्पनीहरूको जेठ मसान्तसम्म खराब कर्जा १३.०४ प्रतिशत पुगेको छ भने गैरबैंकिङ सम्पत्ति ७८ करोड रुपैयाँले बढेर २ अर्ब ७४ करोड पुगेको छ। राष्ट्र बैंकले यस अवस्थालाई सुधार गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने प्रस्ताव अघि सारेको छ भने कर्जाको वर्गीकरण र नोक्सानी व्यवस्थापनसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने तयारीमा रहेको छ।


































