काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य पुनः वृद्धि गरेको छ। संघले जेठ १२ गतेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।
जेठ ११ गते बनेपा र काठमाडौंमा भएको भर्चुअल बैठकमार्फत उत्पादकहरूको सुझाव र सिफारिसका आधारमा चितवनलाई आधार मानी फार्म मूल्य तय गरिएको संघले जनाएको छ।
नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको प्रतिक्रेट मूल्य १५ रुपैयाँले बढेर ५४५ रुपैयाँ पुगेको छ।
ठूलो अण्डा ५३० रुपैयाँ, मिडियम ५०० रुपैयाँ र सानो अण्डा ४०० रुपैयाँ कायम गरिएको छ।
संघले केही दिनअघि मात्रै जेठ ३ गते पनि अण्डाको मूल्य समायोजन गरेको थियो। त्यसबेला एक्सएल अण्डा ५३० रुपैयाँ, ठूलो ५१५ रुपैयाँ, मिडियम ४८५ रुपैयाँ र सानो ३८५ रुपैयाँमा कारोबार भएको थियो।
संघका अनुसार उपभोक्ता बजारमा अण्डाको खुद्रा मूल्य प्रतिगोटा २५ रुपैयाँ तोकिएको छ।



































