काठमाडौं। तारकेश्वर महादेव मन्दिर जनैपूर्णिमा (ऋषि तर्पणी) मेलाको सम्पूर्ण तयारी पुरा भएको छ। तारकेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले जनैपूर्णिमा मेलालाई व्यवस्थित बनाउनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
तारकेश्वर मन्दिर दर्शन गर्न आउने भक्तजनहरुको लाइनको व्यवस्था, प्राथमिक स्वास्थ्य उपचार, पार्किङ लगायत सबै तयारी पुरा भइसकेको मन्दिर व्यवस्थापन समितिका सचिव प्रकाश अर्यालले जानकारी दिएका छन्। ‘मेलालाई व्यवस्थित गर्नका लागि पार्किङ्ग स्थल देखि मन्दिर परिसरसम्म नै भक्तजनलाई सहज हुने हिसाबले नेपाल आर्मी तथा स्थानीय निकायसँग समन्वय गरी अघि बढेका छौ।’ अर्यालले भने।
भक्तजनहरूले करिब १५– २० मिनेट भित्रमै मन्दिरको दर्शन गरी सक्ने व्यवस्थापन समितिले तयारी गरेको अर्यालले जानकारी दिए। दर्शनार्थीलाई सहजिकरणका लागि लागी स्वयमसेवक परिचालन हुने समेत उनले बताए।
जनैपूर्णिमाको दिन बिहान करिब ८ बजे पाँचमानेबाट नेवारी बाजाको टोली तारकेश्वर प्रस्थान गर्ने आयोजकले जनाएको छ। साथै दिउँसोको समयमा ककनीबाट झाँक्रीको टोली मन्दिर आउने कार्यक्रम रहेको छ। मेला भर्नका लागि करिब १५ सय भक्तजन आउने व्यवस्थापन समितिको अनुमान छ ।
तारकेश्वर महादेव मन्दिर
तारकेश्वर नगरपालिका वडा नम्बर ३ मा अवस्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको सिमानाभित्र पर्ने तारकेश्वर महादेव स्थल धार्मिक तथा पौराणिक ऐतिहासिक स्थल हो। प्राकृतिक सुन्दरताले भरिपूर्ण यस स्थलबाट सजिलै काठमाडौँ उपत्यकालाई नजिकैबाट दृश्यावलोकन गर्न सकिन्छ। ऐतिहासिक पाँचमाने जितपुरफेदीबाट आर्मी ब्यारेक हुँदै पुग्न सकिने तारकेश्वर महादेव मन्दिरमा जनै पूर्णिमाको दिन ठुलो मेला लाग्दछ ।
व्रत कथामा वर्णन भए अनुसार सतीदेवीको दाहिने तिघ्रो पतन भएको स्थानमा तारकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहे भन्ने उल्लेख छ । तारकेश्वर महादेव मन्दिर पहरामा रहेको छ । मन्दिर जाने बाटोमा झरना, गुफा, पोखरी, पाटी पनि रहेका छन्। साथै तारकेश्वर मन्दिरमा कबिरपन्थी सम्प्रदायका साधुहरु ध्यान गरी बस्ने ठुलो कुटी समेत रहेको छ । नववर्ष, एकादशी,हरितालिका तिज,शिवरात्रि, जनै पूर्णिमा जस्ता तिथि वा चाडपर्वमा टाढा –टाढाबाट भक्तजनहरू यहाँ पूजा आराधना गर्ने र मेला भर्ने गर्दछन्।
तारकेश्वर महादेव मन्दिरको शिरोभागमा अर्थात् तारकेश्वरबाट करिब १ घण्टा उकालो चढेर धौलेश्वर महादेवको शिवलिंगमा पुग्न सकिन्छ । जहाँबाट उपत्यकाको मनोरम दृश्य अवलोकन समेत गर्न सकिन्छ । यो स्थान आध्यात्मिक पर्यटन तथा प्रकृतिमा विचरण गर्न चाहने आन्तरिक र बाह्य पर्यटकको लागि एउटा अलौकिक गन्तव्य हो ।
































