काठमाडौं। केन्द्रीय बैंकले (आज) मङ्गलवार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रकाशित गरेको छ । जस अनुसार जेठ मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको थियो । ११ महिनाको अवधिमा कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले बढेको हो।
त्यस्तै, अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ जेठ मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ जेठ मसान्तमा २३ प्रतिशतले वृद्धि भई २२ खर्ब ७४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
उपभोक्ता मूल्य सूचकांकमा आधारित वार्षिक मुद्रास्फीति २.७२ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको ४.१७ प्रतिशतभन्दा कम हो। खाद्य समूहमा मुद्रास्फीति न्यून रहेको छ भने गैर–खाद्य वस्तु र सेवामा केही मूल्य वृद्धि भएको देखिन्छ। नेपालको चालु खाता बचत ३०७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा बढेको संकेत हो। वैदेशिक लगानी र पुँजीगत ट्रान्सफरमा समेत वृद्धि भएको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ जेठ मसान्तमा ५३.२ प्रतिशतले वृद्धि भई २ खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ ।
चालु आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४।७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०८२ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ४२.१ प्रतिशत, १२२.९ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन् ।






































