काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित ुकाठमाडौं महानगर सीप मेला २०८२ु मा संस्थागत साझेदारी गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा सहभागिता जनाएको हो ।
महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘सीप मेला २०८२’ को मुख्य उद्देश्य सीप नभएकालाई सीप सिकाउने र आधारभूत सीप भएकाहरूलाई दक्ष बनाउने रहेको जनाइएको छ । मेलामा रोजगारी र आय वृद्धिको माध्यमबाट काठमाडौँको समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ।
सामाजिक उत्तरदायित्वप्रति नेपाल लाइफको समर्पण
काठमाडौं महानगरपालिकाको उक्त अभियानमा सहभागी हुन पाउँदा खुशी अनुभूति भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए। उनले भने, 'जब ‘सीप मेला २०८२’ को प्रस्ताव नेपाल लाइफमा आयो, हामीले यसलाई अवसरमात्र नभई युवालाई सशक्त बनाउन र स्वरोजगारको बाटो देखाउन सकिने महत्वपूर्ण अभियानका रूपमा लियौं। यो मेलाले ३० भन्दा बढी विभिन्न तालिमहरूमार्फत युवा जनशक्तिको माग र आपूर्तिको सन्तुलन कायम गर्न सहयोग पुर्याउनेछ।'
उनले थपे, 'हामीले यो प्रस्तावलाई संस्थागत साझेदारको रूपमा स्वीकार गरेका हौं । किनभने यसले युवालाई मार्गदर्शन, सीप र सुरक्षा मात्र होइन, उनीहरूको भविष्यनिर्माण गर्ने सम्भावनाको पनि ढोका खोल्दछ ।'
सीप मेला केवल एउटा कार्यक्रम नभई सामाजिक परिवर्तनको अभियान रहेको इन्स्योरेन्सले जनाएको छ । त्यहाँ युवाहरूको आत्मनिर्भरता र देशको समृद्धिको सम्भावना समेटिएको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
लक्षित वर्ग र तालिम व्यवस्थापन
सीप मेला विशेष गरी काठमाडौं महानगर क्षेत्रमा बसोबास गरिरहेका स्थायी वा अस्थायी बासिन्दा, करदाताहरू, ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दा, बेरोजगार युवा, विदेशबाट फर्किएर काम खोज्दै गरेका व्यक्तिहरूलाई लक्षित गरेर सञ्चालन गरिएको इन्स्योरेन्सले जनाएको छ ।
तालिमहरू हरेक दिन तीन खण्डमा सञ्चालन हुँदै आएका छन् । पहिलो खण्ड बिहान ७ बजे सुरु भई ११ बजे सकिन्छ । यस्तै ११ बजे सुरु भएको दास्रो खण्ड ३ बजेसम्म चल्नेछ भने तालिमको अन्तिम सत्र ३ बजेदेखि साँझ ७ बजेसम्म हुनेछ । एउटा कक्षामा २५ जना युवालाई समावेश गरिएको छ ।






































