काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एकसाथ ४ कम्पनीको हकप्रद र बोनस सेयर सूचीकृत भएको छ।
नेपाल एसबीआई बैंक , फरवार्ड माइक्रोफाइनान्सको बोनस सेयर र ङादी ग्रुप पावर तथा बलेफी हाइड्रोपावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । नेपाल एसबीआईको ३.८० प्रतिशतले हुने ३३ लाख ९० हजार ५७.८७ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
त्यस्तै, फरवार्ड माइक्रोफाइनान्सको पनि १४ लाख ३ हजार ८९९.७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १३.३० प्रतिशत बोनस सेयर अहिले सूचीकृत भएको हो । यता, ङादी ग्रुप पावरको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
ङादीले १ः१ अनुपातमा (१०० प्रतिशत) बिक्री गरेको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो। यता, बलेफी हाइड्रोपावरको पनि १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीले हालै बिक्री गरेको शतप्रतिशत हकप्रद सेयर सूचीकरण गरेको हो । उक्त बोनस र हकप्रद सेयर शेयर धनीहरूले डिम्याट खातामा जम्मा भएपछि बिक्री गर्न पाउने छन् ।


































