काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सुनचाँदीको मूल्यमा कर वृद्धि गरेसँगै यतिबेला सुनचाँदी व्यवसायी आन्दोलित भएका छन्। सरकारले सुनमा २ प्रतिशत विलासिता कर, बहुमूल्य हिरा र पथरमा १३ प्रतिशत भ्याट लगाएपछि व्यवसायी आन्दोलित भएका हुन ।
सरकारले सुनको मूल्यमा बढाएको करले सुन तस्करीमा प्रोत्साहन गर्ने र गरगहनाको मूल्यमा समेत चर्को वृद्धि हुने भन्दै उक्त निर्णय यथाशीघ्र फिर्ता लिन व्यवसायीहरुले सरकार समक्ष माग गरेका छन् । व्यवसायीले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने, सुनचाँदी प्रस्ट नियमावली निर्माण गर्न समेत माग गर्दै आएको छन् ।
कर वृद्धि गरेको विरोधमा हातमा कालोपट्टि बाँधेर विरोध गरेका छन् । उनीहरूले आज (बिहीबार) हात हातमा पसलका चाबी लिएर धनगढी चौराहा देखि जिल्ला प्रशासन कार्यालय कैलाली सम्म शान्तिपूर्ण ¥याली निकालिएका छन् । हाल लागू भएको १३ प्रतिशत भ्याट तत्काल हटाउन र सरलीकृत कर नीतिहरू निर्माण गर्न उनीहरूको माग छ ।
निर्यात हुने सुनचाँदीमा ५ प्रतिशत टीडीएस हटाउने व्यवस्था मिलाउन माग गरेका उनीहरूले सुनचाँदी तथा हिरा जडित गहनाको कारोबारमा फिर्ता बिक्री प्रक्रिया अवलम्बन हुने हुँदा किनिएको मूल्यभन्दा बिक्री मूल्य फरक हुनुपर्ने स्वाभाविक अवस्था रहेको जनाएका छन् । तर, यस्तो प्रक्रिया व्यवसायमा घाटा पु¥याउने भन्दै यसमा पुनर्विचार गर्न उनीहरूले सरकारका ध्यानाकर्षण गरेका छन् ।
उनीहरूले विभिन्न जिल्लामा आज र भोलि पसल बन्द गर्ने घोषणा गरेका छन् भने बिहानैदेखि पसल बन्द गरेर प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै विरोधका विभिन्न कार्यक्रमहरू तय गरेका छन् ।































