काठमाडौँ। पोखरा महानगरपालिका- २३, कास्की तगरा स्थित संघर्षशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र सचिव एकै साथ पक्राउ परेका छन् ।
सहकारीको रकम हिनामिना गरेको र बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा संघर्षशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विक्रम पाण्डे र सचिव कमल सुवेदी पक्राउ परेका हुन्।
कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माका अनुसार सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना एवं ठगी गरेको देखिएपछि उनीहरूलाई पक्राउ गर्न परेको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गरी दिन सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले प्रहरीलाई पत्र पठाएको थियो।
अध्यक्ष पाण्डेलाई पोखरा १७ बिरौटाबाट र सचिव सुवेदीलाई सहकारीको कार्यालयबाट पक्राउ गरिएको छ। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट ७ दिनको अनुमति लिएको जानकारी दिएको छ ।



































