काठमाडौँ । बैक वित्तीय संस्थामा निरन्तर मात्रामा तरलता थपिएसँगै बैंकहरूको औसत क्रेडिट टु डिपोजिट (सीडी) रेसियो ७६ प्रतिशत भन्दा तल झरेको छ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, हाल बैंकहरूको औसत सीडी रेसियो ७५.८२ प्रतिशतमा झरेको छ। यसरी सीडी रेसियो घट्नुमा बैंकहरूले कर्जा प्रवाह भन्दा असुलीमा बढी केन्द्रित भएको जानकारहरूको भनाई छ ।
असार महिनामा कर्जा असुलीको गति तीव्र भएसँगै नगद प्रवाह समेत बढेको छ । आर्थिक वर्षको अन्तिम त्रैमासमा प्रोभिजन (नोक्सानी रकम छुट्टाउने प्रक्रिया) कम राख्न तथा नाफा वृद्धि गर्न बैंकहरू कर्जा असुलीमा सक्रिय भएको अनुमान गरिएको छ।
त्यसका साथै, देशभित्र लगानीको वातावरण कमजोर हुनु, युवा जनशक्ति वैदेशिक रोजगारीतर्फ आकर्षित हुनु लगायतका कारण अर्थतन्त्रमा माग खुम्चिन पुग्दा बैंकिङ प्रणालीमा प्रत्यक्ष असर देखिएको जानकारहरूको भनाई छ ।


































