काठमाडौँ । भारत र अमेरिकाले आगामी १० वर्षमा रक्षा सहयोग विस्तार गर्न एक सम्झौतामा हस्ताक्षर गरेका छन् । क्वालालम्पुरमा भएको अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ र उनका भारतीय समकक्षी राजनाथ सिंहबिचको बैठकपछि सम्झौतामा हस्ताक्षर गरिएको हो ।
उक्त सम्झौताले ‘समन्वय, सूचना साझेदारी र प्राविधिक सहयोग’ बढाउनेछ र ‘क्षेत्रीय स्थिरता र प्रतिरोध’लाई अगाडि बढाउने अमेरिकी रक्षामन्त्री हेग्सेथले सामाजिक सञ्जालमा बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत कर लगाएपछि दुई देशले तनावपूर्ण सम्बन्धलाई अन्त्य गर्ने प्रयास गरिरहेका समयमा सम्झौता भएको हो । रुसी तेल र हतियारहरु खरिद गरेको भन्दै वासिङटनले नयाँदिल्लीलाई २५ प्रतिशत जरिवानासमेत लगाएको छ ।
यस सम्झौताले भारत–अमेरिका रक्षा सम्बन्धको सम्पूर्ण क्षेत्रलाई नीतिगत निर्देशन प्रदान गर्ने अपेक्षा गरिएको छ । ‘यो हाम्रो बढ्दो रणनीतिक एकताको संकेत हो र यसले साझेदारीको नयाँ दशकको सुरुवात गर्नेछ । हाम्रो द्विपक्षीय सम्बन्धको प्रमुख स्तम्भको रूपमा रक्षा मामिला रहनेछ । स्वतन्त्र, खुला र नियममा आधारित इन्डो–प्यासिफिक क्षेत्र सुनिश्चित गर्न हाम्रो साझेदारी महत्वपूर्ण छ,’ सिंहले सामाजिक सञ्जाल एक्समा बताएका छन्। युरेसिया ग्रुप थिंक ट्यांकका प्रमित पाल चौधरीका अनुसार सम्झौता यस वर्ष जुलाई–अगस्टमा सम्पन्न हुनुपर्ने थियो ।






































