काठमाडौँ। चालु आर्थिक वर्ष २०८१।०८२ को माघ मसान्तसम्ममा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ३६ अर्ब बढीको नाफा कमाउन सफल भएका छन् ।
राष्ट्रबैंकले सार्वजनिक गरेको एक तथ्यांक अनुसार उक्त अवधिमा बाणिज्यबैंकहरुले ३६ अर्ब ६ करोड ७० लाख रुपैयाँ जुन नाफा आर्जन गरेका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६२ प्रतिशतले धेरै हो।
गत आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा वाणिज्य बैंकहरुले २५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा कमाएका थिए।
राष्ट्र बैंकको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ७ महिनामा सर्वाधिक नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । अग्रस्थानमा रहेको यस बैंकले उक्त अवधिमा ०.६२ प्रतिशतले नाफा बढाएर ४ अर्ब १ करोड ११ लाख रुपैयाँ पुराएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकको नाफा ३ अर्ब ९८ करोड रुपैयाँ थियो ।
त्यस्तै, सर्वाधिक नाफा आर्जन गर्ने अर्को बाणिज्य बैंकको दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले उक्त अवधिमा आफ्नो नाफा ४५.०१ प्रतिशतले बढाएर ३ अर्ब ८९ करोड पुयौएको छ । त्यसैगरी, तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४४.५२ प्रतिशतले बढाएर ३ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको छ ।
राष्ट्रबैंकको तथ्यांक अनुसार, ७ यस अवधिमा चौथो स्थानमा रहेको एभरेष्ट बैंकले २९ प्रतिशतले बढाएर २ अर्ब ५७ करोड, पाँचौ स्थानमा रहेको नेपाल बैंकले १५६.३१ प्रतिशतले बढाएर २ अर्ब ४५ करोड र एनएमबि बैंकले ४१ प्रतिशतले बढाएर २ अर्ब ३४ करोड पुर्याएका छन् ।
यस अवधिसम्म आइपुग्दा १० बैंकको नाफा गत वर्षको तुलनामा घटेको छ भने १० वटाको बढेको छ । माघ मसान्तसम्मको अवधिमा प्राइम बैंकको नाफा १४.३१ प्रतिशतले घटेर २ अर्ब १८ करोड, स्टान्र्डड चार्टडको ५ प्रतिशतले घटेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।
साथै, यस अवधिमा प्रभु बैंकको नाफा ९७ प्रतिशतले बढेर १ अर्ब ८३ करोड, लक्ष्मी सनराइजको १२ प्रतिशतले बढेर १ अर्ब ५८ करोड, नेपाल एसबिआई बैंकको२८ प्रतिशतले बढेर १ अर्ब रुपैयाँ रहेको छ । बाकी अन्य १० बैंकको नाफामा गिरावट आएको छ ।
































